ट्रम्पको प्रश्‍न: मूलधारका मिडिया बाइडेनले जित्यो किन भनिरहेका छन् ?

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी मूलधारका मिडियालाई पक्ष लिएको र आफ्नो पक्षका समाचार सम्प्रेषण नगरेको आरोप लगाएका छन् ।

 

साथै उनले सोधेका छन्, ‘फेक न्युज मिडियाले किन बारम्बार जो बाइडेन चुनावमा निर्वाचित भएको र आगामी जनवरीमा राष्ट्रपति बन्ने प्रशारण गरिरहेका छन् ? गत साता राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक गर्दै अमेरिकी मूलधारका मिडियाले जो बाइडेन निर्वाचित भएको र आगामी राष्ट्रपति अब उनै बन्ने समाचार सम्प्रेष्ण गरेका थिए । पेन्सिल्भेनिया लगायत केही निर्णयक राज्यको मत परीणाम सार्वजनिक भएपछि नै बाइडेन निर्वाचित भएको पक्का भएको थियो ।

 

सोही अनुरुप सिएनएन, न्युयोर्क टाइम्स, बीबीसी, एपी लगायत मिडियाले उक्त समाचार सुरुमै सम्प्रेषण गरेका थिए । तर ट्रम्पले बाइडेनलाई चुनावमा धाँधली गरेको र नतिजा चोरेको आरोप लगाए । पत्रकार सम्मेलन गरी आगामी शासन कसको हातमा पुग्ने अहिले नै भन्न नसकिने भन्दै फेरि मतगणना गर्नुपर्ने अडान राखे । उनले चुनाव विरुद्ध मुद्दा समेत दायर गरे । तर उनको उजुरी सुनुवाइ भएन ।

 

हिजो आइतबार भने ट्रम्पले पहिलो पटक ट्वीटमा लेखेका थिए, ‘बाइडेनले जिते’ । तर त्यसको केही घण्टामै उनले अर्को ट्वीट गर्दै लेखे कि, ‘तर फेक न्युज मिडियाको नजरमा मात्रै उनले जितेका हुन् । वास्तविकतामा हामी जित्छौँ,’ ।

अमेरिकी निर्वाचन अधिकारीहरुले भने यसपटक अमेरिकी निर्वाचन इतिहासमै सबैभन्दा निष्पक्ष भएको प्रतिक्रिया दिएका छन् । चुनावी परीणाम अनुसार ट्रम्पले २३२ इलेक्टोरल कलेज भोट मात्रै ल्याएका थिए । जब कि, राष्ट्रपति बन्नका लागि २७० भोट ल्याउनु पर्छ । एजेन्सी