बाराक ओबामाको विशेष सम्बन्ध: भारत, महाभारत र रामायण !

वासिङटन : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले भारतलाई विशेष स्थानका रुपमा लिने गरेको बताएका छन् ।

 

ओबामाले बाल्यकालका केही वर्ष इन्डोनेसियामा रहँदा हिन्दू पौराणिक रामायण र महाभारत सुनेर बिताएको स्मरण गरेका छन् । ओबामाको हालै प्रकाशित संस्मरणमा यस्तो कुरा उल्लेख गरेका हुन् ।

‘भारतले विश्वको ६ भागको एक भाग जनसंख्या ओगटेको छ । दुई हजार आदिवासी समूह र सात सय भन्दा धेरै भाषा बोलिन्छ,’ ओबामाले आफ्नो नयाँ पुस्तक ‘अ प्रोमिस्ड ल्याण्ड’मा भारतसँगको सम्बन्धबारे लेखेका छन् ।

 

ओबामाले पुस्तकमा भारतका नेता तत्कालिन प्रधानमन्त्री मनमोहन सिंह, सोनिया गान्धी र राहुल गान्धीबारे पनि टिप्पणी गरेका छन् । उनले २०१० मा राष्ट्रपतिको रुपमा गरेको भ्रमण भन्दा पहिले कहिल्यै भारत नपुगेको पनि उनले उल्लेख गरेका छन् । तर उनले भनेका छन्, ‘तर यो देश मेरो कल्पनामा सधैँ विशेष स्थानको रुपमा रह्यो ।’

ओबामाले लेखेका छन्, ‘यस्तो पनि हुनसक्छ कि, सायद मैले जीवनको एक हिस्सा इन्डोनेसियामा रहँदा रामायण र महाभारतका हिन्दू कथाहरु सुनेर बिताएँ, अथवा, पूर्वीय धर्महरुप्रति मेरो रुची भएकाले पनि हुनसक्छ, अथवा कलेजका भारतीय र पाकिस्तानी साथीहरुका कारणले पनि हुनसक्छ, जसले मलाई दाल र किमा पकाउन सिकाए । र बलिउड मुभीमा आकर्षित गराए ।’

 

ओबामाले २००८ को चुनावी अभियानदेखि कार्यकालको अन्त्य २०१६ सम्मको स्मरण आफ्नो पुस्तकमा समेटेका छन् ।

यस्तै उनले अलकायदाका नेता ओसामा बीन लादेनको हत्याको स्मरण पनि पुस्तकमा उल्लेख गरेका छन् ।एजेन्सी