बोइङ ७३७ म्याक्सलाई अमेरिकामा उड्ने अनुमति

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङको ७३७ म्याक्स विमानले पुनः उड्ने अनुमति पाएको छ । त्यहाँका सुरक्षा नियामकहरुले विमानलाई उडानको अनुमति दिएको हो ।

 

योसँगै पाँच महीनाभन्दा कम अवधिमा २ ओटा विमान दूघर्टना भएपछि सन् २०१९ को मार्चमा विमानमाथि लगाइएको ग्राउन्डिङको आदेश हटेको छ । ७३७ म्याक्स संकटबाट गुज्रिरहेको कम्पनीका लागि यो ‘माइलस्टोन’ हो ।

 

यस वर्ष कोरोना भाइरसको महामारीका कारण विश्वभर हवाई यात्रा सुस्ताउँदा कम्पनीको वित्तीय समस्या झनै गहिरो बनेको छ ।
यद्यपि, आकाशमा उड्नु अघि विद्यमान ७३७ म्याक्स विमानको सफ्टवेयर र वायरिङमा केही परिवर्तन गर्नु पर्नेछ ।

 

यो अनुमतिले विमानलाई तत्कालै आकाशमा फर्किने अनुमति नदिएको अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए) ले बताएको छ । यसबाहेक पनि विमान चलाउने चालकलाई पनि तालिम दिनु पर्नेछ । एजेन्सी