डोली चढेर आएको त्यो अमेरिकी मिसन, जसले दियो नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता

जोसेफ सी स्याटर्थवेट
मिशिगन,

नेपाल घुम्ने इच्छा लेखकका थुप्रै सहकर्मी र मित्रहरुमा देखिन्छ। कमसेकम उसको साथमा नेपाल जान धेरै जनाले गरेको आग्रहबाट त्यस्तै लाग्छ। भलै आधाजसो त्यस्ता आग्रह मजाक र आधा गम्भीरतापूर्वक गरिएका थिए। सायद नेपाल टाढा र अलग भएकाले यस्तो आकर्षण उत्पन्न भएको हुनसक्छ। केही युरोपेलीबाहेक परम्परागत रुपमा नेपाल सबैबाट अलग छ। काठमाडौँ उपत्यकामा प्रसिद्ध हिन्दु र बौद्ध तीर्थस्थल छन् भन्ने जानकारीका कारण हुनसक्छ। राजधानी काठमाडौँ र यसका दुई छिमेकी सहर पाटन तथा भादगाउँ हिमालयनजिकै रमणीय उपत्यकामा अवस्थित छन्। यी सारा दृश्य मानिसहरुको दिमागमा बहुचर्चित सांग्रिलाका रुपमा बसेको हुनसक्छ।

 

 

नेपाल अधिराज्य भारतको उत्तरपूर्वी सीमामा पर्छ। उत्तरी दिशाबाहेक नेपाललाई भारतले तीनैतिरबाट घेरेको छ। तिब्बतसँगको नेपालको सीमामा विश्वकै अग्ला केही हिमाल छन्। जसमध्ये सगरमाथा सबैभन्दा प्रसिद्ध छ। नेपालको लम्बाइ करिब ५ सय माइल र चौडाइ करिब १ सय माइल छ। दक्षिणी भेगको एउटा सानो जंगलबाहेक पुरै देश अनेक श्रेणीका पर्वतमालामा अवस्थित छ। सो जंगल भने विश्वकै उत्तम सिकार क्षेत्रमध्ये एक हो। जनसंख्या ६० देखि ७० लाखको बीचमा छ।

 

 

राजधानी काठमाडौँ भारतको उत्तरी सीमाबाट करिब ७५ माइल टाढा पर्छ। जुन करिब ४ हजार ५ सय फिटको उचाइमा छ। काठमाडौँको जलवायु वर्षैभरी सुखद् रहन्छ। बाहिरी विश्वबाट काठमाडौँ जाने न रेलमार्ग छ न सडक। न त काठमाडौँनजिकै वा पुरै देशमा कुनै हवाई मैदान नै छ, शिवाय दक्षिणी सीमापारि। राजधानी पुग्न नेपालको सीमामा पर्ने भारतको बिहारस्थित रक्सौल सहरसम्म रेलमा जानुपर्छ। त्यहाँबाट नेपालतर्फ आमन्त्रित पाहुनाका रुपमा मात्रै यात्रा गर्न सकिन्छ। नत्र नेपालको प्रधानमन्त्रीकै अनुमति चाहिन्छ। रक्सौलबाट नेपाल प्रवेश गरेपछि काठमाडौँतर्फको यात्रा झनै असम्भव छ। युरोपेलीहरुका निम्ति कहिलेकाहीँ खुल्ने देशको एक मात्र हिस्सा यही हो। त्यो पनि कुनै पाहुनाघर, डोली, घोडा र अरु सुविधा प्रयोग नगरीकन। अनुमति पाएपनि यस्ता सुविधाविना असाध्यै कष्टका साथ मात्र यात्रा गर्न सकिन्छ।

नेपालमा थुप्रै भाषा बोलिन्छ। यहाँका बासिन्दा भारत र मध्य एसियाका आदिबासी हुन्। जसमध्ये धेरैको मंगोलियन मुखाकृति छ। यहाँको प्रमुख जातीय समूह भने मुगल आक्रमणका बेला भारतको राजपुताना जिल्लाबाट पश्चिम नेपालमा भित्रिएको हो। राजपुतहरुले निकै बहादुरीपूर्वक मुस्लिम आक्रमणकारीहरुको सामना गरेका थिए। तर, तिनलाई विस्तारै लखेट्न थालियो र धेरैले नेपालको पहाडी भेगमा शरण लिए। जहाँ आक्रमणकारीहरु कहिल्यै पुगेनन्। अठारौँ शताब्दीमा गोर्खा भनेर चिनिने जिल्लाका केही राजपुत नेताहरुले पुरै देश नियन्त्रणमा लिन सफल भए। उनीहरुले देशको सीमालाई उत्तरपश्चिममा कस्मिरसम्म विस्तारसमेत गरे।

 

उन्नाइसौँ शताब्दीको सुरुमा नेपालीहरुले देशको सीमा दक्षिणतिर धकेल्न थाले। जसका कारण स्वभाविक रुपमा इस्ट इन्डिया कम्पनीसँग उनीहरुको द्वन्द्व उत्पन्न भयो। त्यसपछि कम्पनीले काठमाडौँतर्फ सैनिक पठायो। कम्पनीको सेना सम्भवतः काठमाडौँसम्मै आइपुग्न सक्छ भन्ने लागेपछि नेपालीहरुले कम्पनीसँग सन् १८१५ मा एउटा सन्धि गरे। जसले उनीहरुको सीमा स्वाट्टै खुम्च्यायो। त्यसपछि नेपालीहरुले कम्पनीलाई काठमाडौँको बाहिरी भागमा पच्चीस सय एकड जमिनमा रेजिडेन्सी राख्ने अनुमति पनि दिए। अंग्रेज रेजिडेन्टलाई आफ्नै सैनिक दस्ता र हुलाक समेत राख्ने अनुमति थियो। तर, नेपालीहरुको साथमा बाहेक उनी रेजिडेन्सीबाट बाहिर निस्किन पाउँदैनथे। संयोगवश नेपालमा अझै पनि भारतीय रुपैयाँलाई ‘कम्पनी पैसा’ भनेर चिनिन्छ र यो मुद्रा मुलुकभर बिनाबन्देज चल्छ।

सन् १८५७ मा भएको भारतीय सिपाही विद्रोहका बेला नेपालीहरु बेलायतलाई सघाउन लखनउ पुगेका थिए। कृतज्ञतास्वरुप नेपालले १८१५ को सन्धिमा गुमाएको दक्षिणको केही भूभाग बेलायतले फिर्ता गरिदियो। त्यसपछि दुई मुलुकबीचको सम्बन्ध अत्यन्त सौहाद्र्र रहँदै आएको छ। पहिलो विश्वयुद्धमा भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको माध्यमबाट बेलायतलाई नेपालीहरुले साह्रै मूल्यवान सहयोग पुर्‍याए। त्यसैले उनीहरुलाई वार्षिक १० लाख रुपैयाँ अनुदान दिएर पुरस्कृत गरियो। नेपाललाई थप पुरस्कृत गर्न बेलायतले सन् १९२३ मा नेपालसँग एउटा सन्धि गर्‍यो। जसमा बेलायतले नेपाललाई आन्तरिक र बाह्य दुवै रुपमा स्वतन्त्र मुलुकको मान्यता दियो। नेपालस्थित बेलायती रेजिडेन्टको दर्जा पनि बढाएर दूत बनाइयो।

 

त्यसैले अहिलेसम्म नेपालमा औपचारिक उपस्थितिको अनुमति पाएको एकमात्र युरोपेली मुलुक बेलायत हो। तथापि तिब्बतसँग नेपालीहरुको शताब्दियौँदेखि औपचारिक सम्बन्ध रहँदै आएको छ। चीनसँग पनि क्रान्तिअघिसम्म त्यस्तै सम्बन्ध थियो। तथापि चीनसँग उनीहरुको औपचारिक सम्बन्ध हालै नवीकरण गरिएको हो।

गएको दुई शताब्दीमा नेपालको राजगद्दी शाहवंशले ओगटेको छ। तर, करिब एक सय वर्षअघि नेपालका राजाहरुले आफ्ना धेरैजसो शक्ति गुमाए। यद्यपि धार्मिक र प्रतीकात्मक रुपमा उनीहरु देशको शासक रहिरहे। वर्तमान राजा महाराजधिराज त्रिभुवन वीर विक्रम सन् १९०५ मा जन्मिएका थिए। उनी सन् १९११ सम्म गद्दीमा आसीन भए।

सन् १८४७ यता नेपाल व्यवहारिक रुपले प्रधानमन्त्रीद्वारा शासित हुँदै आएको छ। महाराजको पदवी लिएका उनीहरुले जहानियाँ तरिकाले शासन गर्छन्। राजाको झैँ उनीहरुको उत्तराधिकारीको रोलक्रम बाबुबाट छोरामा सर्दैन। बरु, हरेक पुस्तामा उमेरअनुसार दाजुबाट भाइ र भतिजामा सर्छ। गएको शताब्दी प्रधानमन्त्रीका रुपमा शासन गरेका उनीहरुको पारिवारिक नाम हो– शमशेर जंगबहादुर राणा। जसलाई छोटकरीमा शमशेर जबरा वा राणा मात्र पनि भन्ने गरिन्छ। अहिलेका प्रधानमन्त्री महाराज पद्म शमशेर जबराले नोभेम्बर १९४६ मा सत्ता सम्हालेका हुन्। उनका पूर्ववर्ती महाराज जुद्ध शमशेर जबराले राजीनामा दिएर बाँकी जीवन धर्मकर्ममा लगाउने इच्छा व्यक्त गरेका थिए।

 

 

नेपाल सैन्य–धार्मिक रुपले संगठित छ। सरकारको प्रमुख प्रशासकीय र सैन्य पद महाराजपछिका चार उच्च दर्जाका जर्नेलको पकडमा छ। नियमअनुसार रोलक्रममा रहेका राणा परिवारका सदस्यहरु जन्मिँदै कर्णेल हुन्छन्। १८ वर्ष उमेर पुगेपछि उनीहरु मेजर जनरल बन्छन्। त्यसपछि रोलक्रमअनुसार उनीहरुको बढुवा हुँदै जान्छ।

नेपालीहरुले प्रसिद्ध लडाकु पठाएर दोस्रो विश्वयुद्धमा योगदान गरे। यो मित्र राष्ट्रका लागि अघिल्लो विश्वयुद्धको भन्दा ठूलो सहयोग थियो। युद्धमा १० जना गोर्खा सैनिकलाई भिक्टोरिया क्रस प्रदान गरियो। यो पनि उनीहरुको युद्ध कौशललाई अर्को प्रमाण हो। मध्यपूर्व र भारत–बर्मा थिएटरमा गोर्खा सैनिकहरुसँग अमेरिकी अधिकारीहरुको चिनजान भयो। भारत र बर्मामा खटिएको नेपाली फौजका कमान्डिङ जर्नेल बहादुर राणाले कयौँ अमेरिकी अधिकारीहरुसँग राम्रो मित्रता कायम गरे। उनी हाम्रो सेनाको ठूलो प्रशंसक पनि बने। खासगरी उनी अमेरिकी सिपाहीको तगडा स्वतन्त्र चरित्रबाट प्रभावित बनेका थिए।

एक पटक साँझमा जर्नेल बहादुरको झण्डावाल गाडीलाई दिल्लीभन्दा २० माइल टाढा एक अमेरिकी सैनिकले रोकेछन्। ती सैनिकले जर्नेलसँग आफूलाई मात्र होइन, आफ्नो साइकल, राइफल र उनले सिकार गरेको मृगका लागि समेत लिफ्ट मागेछन्। जर्नेलले खुसी भएर ती सिपाही र उनका सरसामानलाई दिल्लीसम्म पुर्‍याइदिए।

 

 

त्यसैले, जब हाम्रो विशेष कूटनीतिक मिसन काठमाडौँ पुग्यो र हामीले वार्ता गर्नुपर्ने नेपाली कमिटीको प्रमुखमा उनै जर्नेल बहादुरलाई फेला पार्‍यौँ, तब हामीले आफूलाई सबैभन्दा भाग्यमानी ठान्यौँ। त्यसमाथि सो कमिटीका अन्य सदस्यहरु जर्नेल मृगेन्द्र र विजयको पनि अमेरिकीहरुसँग त्यस्तै सम्पर्क थियो।

नेपालमै पनि अमेरिकी र नेपाली अधिकारीहरुबीच अनेक पटक सम्पर्क भएको थियो। नयाँ दिल्लीस्थित फरेन इकोनोमिक एड्मिनिस्ट्रेसन ९एफईए० मा रहँदा एन्ड्रयु कोरीले सन् १९४४ को शरदमा नेपाली अधिकारीहरुको निमन्त्रणामा काठमाडौँ भ्रमण गरेका थिए। सन् १९४५ मा एफईएकै ह्यारी विट र अमेरिकी सेनाका लेफ्टिनेन्ट अल्फ्रेड ब्राउन पनि नेपालको आर्थिक विकास तथा अमेरिकासँग प्रत्यक्ष व्यापार सम्बन्ध स्थापना गर्ने विषयमा अनौपचारिक छलफल गर्न काठमाडौँ पुगेका थिए। अफगानिस्तानस्थित अमेरिकी दूतको जिम्मेवारीबाट फिर्ता हुँदै गर्दा कोर्नेलिअस भान एच एंगर्ट र कलकत्तास्थित अमेरिकी उपवाणिज्यदूत हेलेन निकोल्सले पनि क्रमशः १९४५ र १९४६ मा नेपाल भ्रमण गरे। उनीहरु बेलायती दूत र श्रीमती फाल्कोनरको पाहुनाका रुपमा काठमाडौँ आएका थिए। १९४६ को नोभेम्बरमा नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जर्ज आर मेरेल दूतावासका सैनिक सहचारी लेफ्टिनेन्ट कर्णेल नेथानियल एच हस्कोट र बम्बईका उपवाणिज्यदूत जे जेफर्सन जोन्सलाई लिएर काठमाडौँ पुगे। दोस्रो विश्वयुद्धमा भारत–बर्मा थिएटर सैनिक उपलब्ध गराएकोमा महाराज पद्यलाई लिजन अफ मेरिट पदवी प्रदान गर्न उनीहरु त्यहाँ पुगेका थिए।

 

 

यसैबीचमा केही नेपाली अधिकारीहरुले पनि अमेरिकाको भ्रमण गरेका थिए। युरोपमा युद्ध सुरु भएलगत्तै लन्डनस्थित नेपाली दूत जर्नेल कृष्ण राना प्रशान्त महासागरको बाटो हुँदै नेपाल फर्किने क्रममा अमेरिका पुगेका थिए। उनका उत्तराधिकारी जर्नेल सिंह रानाले पनि सन् १९४५ को शरदमा अमेरिकाको भ्रमण गरे। त्यसबखत उनले राष्ट्रपति ट्रुम्यानसहित उच्चपदस्थ अमेरिकी अधिकारीहरुलाई पनि भेटे। त्यसपछि सन् १९४६ को गर्मीमा कमान्डिङ जर्नेल बबर रानाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले अमेरिकामा कयौँ साता बितायो। उनीहरु विदेश मन्त्रालयको निम्तामा त्यहाँ पुगेका थिए।

यी अनेकौँ बैठकमा भएका छलफलको नतिजास्वरुप मेरेलको काठमाडौँ भ्रमणका क्रममा नेपाल सरकारले मित्रता र व्यापारसम्बन्धी सम्झौता टुंग्याउन तथा कूटनीतिक र वाणिज्य सम्बन्ध स्थापना गर्ने उदेश्यले अमेरिकी सरकारको विशेष मिसनलाई निमन्त्रणा दियो।

नेपालको निमन्त्रणालाई अमेरिकी विदेश मन्त्रालयले सहर्ष स्वीकार गर्‍यो। त्यसपछि मध्यपूर्वी र भारतीय मामिला डिभिजनको भारत–नेपाल सेक्सनका सदस्यहरुले तुरुन्तै तयारी सुरु गरे। यस्तो प्रकृतिको मिसनको सफलता सुनिश्चित गर्ने दस्तावेजहरुको खाका कोर्न थालियो। २२ मार्च १९४७ मा नेपालमा विशेष कूटनीतिक मिसन पठाउने अमेरिकी विदेश मन्त्रालयको मनसाय छापामा सार्वजनिक गरियो। जसमा मिसनका सदस्यहरुको नाम समेत उल्लेख थियो। मिसनमा लेखकका अतिरिक्त नयाँ दिल्लीस्थित दूतावासका वाणिज्यदूत स्यामुएल एच डे, मन्त्रालयका फरेन सर्भिस अफिसर रेमन्ड ए हेयर, नयाँ दिल्लीस्थित दूतावसका चिफ पब्लिक अफेयर्स अफिसर विलियम सी जोनस्टोन जुनियर, नयाँ दिल्लीस्थित सहायक सैनिक सहचारी लेफ्टिनेन्ट कर्णेल नेथानियल आर हस्कोट, बम्बईका उपवाणिज्यदूत जे जेफर्सन जोन्स र कराचीका उपवाणिज्यदूत चार्ल्स डब्लु बुथ थिए।

 

 

हेयर र लेखकले मार्च ३० का दिन विमानबाट वासिङ्टन छाड्यौँ। हामी बम्बईबाट जोन्सलाई लिएर अप्रिल ६ मा दिल्ली पुग्यौँ। सोही दिन कराचीबाट बुथ पनि आइपुगे। जसका कारण मिसनका सबै सदस्य पहिलो पटक एकै ठाउँमा जुट्न सम्भव भयो। त्यसपछिका पुरै चार दिन यात्राको तयारी गर्दैमा बित्यो। अप्रिल ११ का दिन हामी दिल्लीबाट सैनिक सहचारी लेफ्टिनेन्ट कर्णेल चार्ल्स ई केपलको विमानमा पटना गयौँ। हाम्रा पाइलट उनै थिए। तीन घण्टाको यात्रा गरी पटना पुगेपछि बाँकी दिन हामीले कुरेर बस्नुपर्‍यो। किनभने गंगापारिपट्टिबाट हाम्रो रेल साँझमा मात्रै चल्नेवाला थियो। गंगाको मैदानमा चर्को गर्मी थियो। तर, हामीलाई बिहारका गभर्नर ह्यु डाउ र लेडी डाउले दयापूर्वक गर्भनर्स हाउसमा शरण दिए।

त्यो साँझ हामीले डुंगा चढेर पवित्र गंगा पार गर्‍यौँ। जलिरहेका दुई घाटले अन्धकारलाई चिरेका थिए। भोलिपल्ट दिउँसो १ बजे हामी नेपालको सीमास्थित रक्सौल पुग्यौँ। त्यहाँ हामीलाई भेट्न वीरगञ्जका गभर्नर कमान्डिङ जर्नेल हिरण्य राना आइपुगेका थिए। उनले नेपालका महाराजका तर्फबाट हामीलाई स्वागत गरे र दिवाभोजको निम्ता दिए।

 

 

भोजपछि महाराजको निजी ट्रेनमा अत्यन्त राम्ररी सुसज्जित भएर हामीले नेपालभित्रको पहिलो चरणको यात्रा सुरु गर्‍यौँ। ३० इन्चको गेज भएको रेलमार्ग थियो। रेल सीधा उत्तरतिर हान्नियो। धानखेत र जंगल हुँदै पच्चीस माइल पार गरेपछि अमलेखगञ्ज पुगियो। अमलेखगञ्जमा गाडी र ट्रक हामीलाई पर्खिरहेका थिए। हाम्रा झोला र सरसामान तिनैमा हाल्यौँ। त्यसपछि गाडी चढेर हामी २७ माइल टाढा पहाडको फेदीमा अवस्थित सुरम्य भीमफेदी सहर पुग्यौँ। सडक त्यहीँ टुंगियो। त्यहाँ हामीलाई पहाडी चिसोले स्वागत गर्‍यो। हामीलाई महाराजको पहुनाघरमा चिया खुवाइयो। हामी त्यहाँ पुग्दा अँध्यारो भइसकेको थियो। हामी र काठमाडौँको बीचमा दुई पहाडी शृंखला उभिएका थिए।

त्यहाँ हामीलाई काठमाडौँ पुर्‍याउन घोडा र डोलीसहित करिब एक सय जना कुल्ली तयार भएर बसेका थिए। यात्राको नेतृत्व गरिरहेका कर्णेलले अँध्यारो भएकाले हामीलाई डोलीमा चढ्न आग्रह गरे। उनी आफैँ भने घोडामा चढे। गह्रौँ झोला र सामान जति एउटा डाँडादेखि अर्को डाँडासम्म टाँगिएको रोपवेमार्फत सोझै काठमाडौँ पठाइयो। हामीलाई यात्रामा चाहिनसक्ने झोलाहरु भने हामीसँग हिँडेका भरियाहरुले पिठ्युँमा बोके।

अन्ततः रातिको ८ बजेतिर हामीले उकालो चढ्न सुरु गर्‍यौँ। ढुंगैढुंगाको बाटोमा लामो पंक्ति ठाडो उकालो चढिरहेको थियो। अन्धकारलाई एकादुई चहकिला लालटिनको उज्यालोले चिर्थ्यो। त्यो दृश्य र आवाजलाई हामी प्रत्येकले लामो समयसम्म सम्झिरहने छौँ।

 

करिब साढे ९ बजेतिर हामी तीन माइल उकालो चढेर सिसागढी किल्लाको विश्रामघरमा पुग्यौँ। पेटभरी खाना खाएपछि हामीले त्यहीँ रात बितायौँ। भोलिपल्ट बिहान घोडा चढेर हामीले यात्रा सुरु गर्‍यौँ। पहाडको उकालो चढिसक्न अझै १५ माइल बाँकी थियो। यात्रा सुरु भएसँगै नेपालमा हामीलाई दिइएका कयौँ सैन्य सम्मानमध्ये पहिलो सम्मानको अनुभव लियौँ। यसपटक उकालो चढ्दै गर्दा हामीलाई एक सैन्य टुकडीले सलामी अर्पण गरेको थियो।

हामी तगडा पहाडी घोडामा यात्रा गरिरहेका थियौँ। अप्ठेरो र साँघुरो बाटो आउँदा घोडाबाट ओर्लेर पैदल हिँड्थ्यौँ। हामी चाँडै नै चिसापानी गढी पुग्यौँ। यो ठाउँ ६ हजार ६२३ फिटको उचाइमा थियो। त्यसपछि ७ हजार ७ सय फिटको उचाइमा रहेको चन्द्रागिरि डाँडामा दिउँसो आइपुग्यौँ। यी दुई डाँडाको बीचको बाटोमा जहाँजहाँ सम्भव छ, त्यहाँ जोडतोडले खेतीपातीको काम भइरहेको थियो। हामीले गाउँमा भेटेका मानिसहरु पनि खुसी र मित्रवत् थिए। चन्द्रागिरि डाँडाबाट देखिएको दृश्य मनमोहक थियो। यद्यपि बादल लागेका कारण हिउँले ढाकिएका हिमाल हामीले हेर्न पाएनौँ।

 

चन्द्रागिरि डाँडाको बाटो त यति भिरालो र अप्ठेरो थियो कि सबै जना घोडामा चढेरै आइपुगेको देख्दा हामी चकित पर्‍यौँ। पछि हाम्रा नेपाली आतिथेयहरुबाट हामीले थाहा पायौँ, उनीहरु यो पूरै बाटो घोडा चढेरै त्योपनि हामीले लगाएको समयको एक तिहाइमै पार गर्दा रहेछन्। यो बाटोको कठिनाइबारे हामीले लर्ड लुइ माउन्टबेटनबाट पहिले नै संकेत पाइसकेका थियौँ। नयाँ दिल्लीमा सँगै खाना खाँदै गर्दा उनले मजाक गर्दै भनेका थिए– दक्षिण एसिया कमान्डमा हुँदा म र लेडी माउन्टबेटन काठमाडौँ भ्रमणमा गएका थियौँ। यिनलाई जनावरको साह्रै माया लाग्छ। त्यसैले उकालो बाटो देखियो कि यिनी घोडा चढ्नै नमान्ने। यिनले आफ्नो घोडा पनि झण्डै मलाई बोकाइन्!

चन्द्रागिरिको टुप्पोबाट हिँड्ने बेला कर्णेलले फेरि हामीलाई डोली चढ्न भने। सायद उनको सोच हामी काठमाडौँ पुग्दा थाकेर चुर नभइदिए हुन्थ्यो भन्ने थियो होला। तर डोली चढेपछि हामीलाई थाहा भयो, डोलीमा ओरालो झर्नुभन्दा उकालो चढ्नु धेरै सजिलो रहेछ। त्यसैले ओरालो सकिन लाग्दा हामी डोलीबाट ओर्लेर फेरि घोडामा चढ्यौँ र केही हदसम्म मर्यादित तरिकाले थानकोट प्रवेश गर्‍यौँ। थानकोट पुग्दा अपरान्हको ४ बजिसकेको थियो। त्यहाँ हामीलाई राजधानी भित्र्याउन महाराजका प्रतिनिधि गाडी लिएर पर्खिरहेका थिए। ती र नेपाल उपत्यकाका कयौँ माइल सडकमा चल्ने सबै कार हामी आएकै बाटो कुल्लीहरुले बोकेर ल्याएका थिए। ती कुल्लीहरु गह्रौँ सामान पनि बोकेर छिटो हिँड्न खप्पिस छन् भनेर हामीलाई सुनाइयो। गाडीलाई रोपवेमा बोक्न सकिन्न। किनभने रोपवेले बोक्न सक्ने अधिकतम तौल भनेको ६ सय पाउन्ड मात्र हो।

 

 

थानकोटमा हाम्रा लागि दुई वटा पाल तयार गरिएको थियो। त्यहाँ पसेर सरसफाइ गरिसकेपछि हाम्रो समूहलाई धुमधामका साथ त्यहाँबाट ६ माइल टाढाको आरामदायी घरमा पुर्‍याइयो। जहाँ हामी बस्ने टुंगो थियो। करिब आधा बाटो पार भएपछि पैदल सेनाको एउटा गण र सजिसजाउ ब्यान्डले हामीलाई औपचारिक सलामीका साथ स्वागत गर्‍यो। १७ तोप पड्काएर सलामी पनि दिइयो। त्यसपछि हाम्रो समूहका तीन जनालाई सरकारी बग्गीमा र अरु चार जनालाई कारमा चढ्न भनियो। बाँकी बाटो रंगीचंगी घोडचढी सैनिक र सुन्दर घोडाहरुको पहरामा हामीले यात्रा गर्‍यौँ।

 

हामी बेलायती दूतावासनजिकैको आफ्नो बासस्थान पुग्यौँ। त्यहाँ आँगनमा हाम्रो स्वागतका लागि महाराजले पठाएका फूल, फलफूल, माछा, चराचुरुंगी र मृगका मासुलगायतका उपहार फेला पार्‍यौँ। एकैछिनमा कमान्डिङ जर्नेल बहादुर महाराजका तर्फबाट हामीलाई स्वागत गर्न आइपुगे। उनले हाम्रो छलफलका लागि तयार गरिएको योजना पनि हामीलाई सुनाए। त्यसपछि राजधानीमा १२ दिन रहँदासम्म हाम्रो आवश्यकताको रेखदेख गर्न खटिएका अधिकारीहरुले हामीलाई हरेक सुविधा प्रदान गरे। वास्तवमा त्यो आतिथ्य र सत्कारबाट हामी अभिभूत नै भयौँ। वास्तवमा त्यो सत्कारले नेपाल सरकार र जनतामा अमेरिकाप्रति रहेको मैत्री र सम्मानका विषयमा हामीलाई पर्याप्त सचेत गरायो। हामीसँग वार्ता गर्न गठित १० नेपाली अधिकारीहरुको कमिटीले हामीलाई हरेक सुविधा उपलब्ध गरायो। हामीले मागेका सबै सूचना उनीहरुले उपलब्ध गराए। सम्भव भएजति सबै तरिकाले उनीहरुले हामीसँग सहकार्य गर्ने विनम्र प्रयास गरे। सँगसँगै उनीहरुले दृश्यावलोकन र मनोरञ्जनको तालिका पनि तयार गरेका थिए। जसका कारण काम गर्दाबाहेकको हरेक मिनेट आनन्ददायी तरिकाले बित्यो।

 

 

सक्षम तर विनम्र गाइडका साथमा हामीले पाटन र भादगाउँ घुम्यौँ। दुवै स्थान हिन्दु र बौद्ध आर्किटेक्चर तथा अनगिन्ती मन्दिर र चैत्यका लागि परिचित छन्। तीमध्ये धेरैजसोमा भक्तजनहरु वार्षिक रुपमा तीर्थ गर्न आउँछन्। हामीले बौद्धहरुको प्रसिद्ध धार्मिकस्थल स्वयम्भु र बौद्धनाथ (अंग्रेजी बोल्ने चिनियाँ लामाको साथमा) घुम्यौँ। त्यस्तै पवित्र बागमती नदीको किनारमा अवस्थित महान हिन्दु मन्दिर पशुपति पनि हेर्‍यौँ। हामीलाई उपत्यकाका तीनमध्ये एक जलविद्युत उत्पादन केन्द्र, बारुद कारखाना र टक्सार अवलोकनमा पनि लगियो। विशेषगरी संग्रहालय र पुस्तकालय चित्ताकर्षक थियो, जहाँ संस्कृत, तिब्बती र चिनियाँ भाषाका मूल्यवान् ग्रन्थहरु थिए। पुस्तकालयका तिब्बती संरक्षक पनि निकै ज्ञानी थिए।

बदलामा अमेरिकी मिसनले तीन वटा सिनेमा कार्यक्रम राख्यो। दरबारको गतिलो थिएटरमा देखाइएको सिनेमामा ध्यानमग्न दर्शक उपस्थित थिए। जसमध्ये महाराज र अरु उच्च नेपाली अधिकारीहरु पनि थिए। अमेरिकी डकुमेन्ट्री फिल्म, खासगरी टेनिसी भ्यालीको विकासलाई चित्रित गर्ने फिल्मलाई उनीहरुले खुब सराहना गरे। नेपालमा जलविद्युत विकासको विशाल सम्भावना छ। यसमा कुनै सन्देह छैन। अमेरिकी सहयोगमा कुनैदिन जलविद्युत विकास गर्न सफल हुनेमा उनीहरु आशावादी छन्। यसमा महाराज यति इच्छुक थिए कि उनले यही वर्षको सुरुमा लन्डनस्थित नेपाली दूतावासका प्रथम सचिव पाण्डेलाई टेनिसी पठाएका थिए। जसलाई मिहिन अवलोकन गरेर सो विशाल परियोजनाबारे रिपोर्ट तयार गर्न अह्राइएको थियो।

 

 

व्यापार र मैत्रीसम्बन्धी सम्झौताका विषयमा छलफल चलिरहेको थियो। आर्थिक विषयहरुमा पनि संवाद भइरहेको थियो। त्यसैबेला अप्रिल २१ का दिन लेखकलाई राजा त्रिभुवनसँग भेट गर्न लगियो। राजदरबारमा रंगीन स्वागत समारोह आयोजना गरिएको थियो। समारोहमा राष्ट्रपति ट्रुम्यानले पठाएको पत्रलाई राजाबाट औपचारिक मान्यता प्रदान गरियो। अमेरिकाले आफ्नो पक्षबाट नेपालको स्वतन्त्रतालाई मान्यता दियो। अप्रिल २४ का दिन छलफल सफलतापूर्वक सम्पन्न भयो। भोलिपल्ट अप्रिल २५ का दिन सुन्दर ग्यालरी बैठकमा आयोजित औपचारिक समारोहमा हिन्दु पुजारीहरुले निकालेको दिउँसो २ः३१ बजेको शुभसाइत पारेर महाराज र लेखकबीच सम्झौतामा हस्ताक्षर सम्पन्न भयो।

 

सो अवसरमा हस्ताक्षर भएको व्यापार तथा मैत्री सम्झौता अमेरिकाले सन् १९४६ मा यमन र १९३३ मा साउदी अरबसँग गरेको सम्झौताजस्तै हो। यसले कूटनीतिक तथा वाणिज्यदूत आदानप्रदानको अनुमति दिन्छ। त्यस्तै, भविष्यमा दुई मुलुकबीचको व्यापार सम्बन्धमा समानताको नियम स्थापित गर्छ। यसको स्वरुप कार्यकारी सम्झौताको जस्तो छ। यसभन्दा बृहत् सम्झौता वा सन्धि नहुञ्जेलसम्म यो सम्झौता लागू हुन्छ। कुनै पनि पक्षले ३० दिनको अवधि राखी लिखित जानकारी गराएर यो सम्झौता रद्द गर्न सक्छ। यो सम्झौताले अमेरिका र नेपाल, अझ बृहत् रुपमा भन्ने हो भने अमेरिका र दक्षिण एसियाबीच थप समझदारीको आधार प्रदान गर्छ। यसले अमेरिका र नेपालबीच आर्थिक र सांस्कृतिक सम्बन्धको आधार पनि तय गर्छ। अहिलेसम्म दुवै देशलाई एकअर्काका बारेमा एकदमै कम जानकारी छ।

भोलिपल्ट अप्रिल २६ को बिहान अमेरिकी मिसनले काठमाडौँ छाड्यो। उपत्यकामा प्रवेश गर्दै गर्दा महाराज, कमान्डिङ जर्नेल बहादुर र अन्य नेपाली अधिकारीहरुबाट जस्तो सम्मान प्राप्त भएको थियो, फर्किंदै गर्दा पनि उस्तै आत्मीय र मित्रवत् सम्मान प्राप्त भयो। २७ अप्रिलका दिन रक्सौल पुग्यौँ। महाराज पद्य र जर्नेल बहादुरले हाम्रो यात्राबारे सोधिखोजी गर्दै अनेक पटक टेलिफोन सन्देश पठाएका थिए। यसरी हामी नेपाल अधिराज्यबाट विदा भयौँ। हामीले पुरै यात्रा दिउँसो मात्र गरेका थियौँ। यसपटक हामीलाई बाटो पनि राम्ररी थाहा थियो। त्यसैले डोली चढ्न आवश्यक परेन। यद्यपि हामीसँग डोली थिए।

 

 

हामी काठमाडौँबाट हिँडेको दिन साइत राम्रो छैन भनेर महाराज चिन्तित थिए। नभन्दै नयाँ दिल्लीतर्फ जाँदै गर्दा हाम्रो झोला र सरसामान बोकेको ट्रक भत्कियो। हामी चढेको भन्दा अघिल्लो रेल लिकबाट उछिट्टियो। जसले गर्दा केही ढिला हुन गयो। यद्यपि कुनै गम्भीर दुर्घटना भएन। रक्सौल आइपुगेपछि कमान्डिङ जर्नेल हिरण्य पुनः हामीलाई भेट्न आए। उनले खाना खुवाए र लखनऊको रेल चढाएर विदा गरे। कर्णेल केपलले हामीलाई अप्रिल २९ को बिहान लखनऊबाट उडाएर दिल्ली पुर्‍याए।

 

टुंग्याउनुअघि हाम्रो भ्रमणका आधारमा नेपालबारे केही टिप्पणी गर्नु उचित हुनसक्छ। नेपाल अधिराज्यले कहिल्यै पनि बेलायती सर्वोच्चतालाई स्वीकारेन। न त भारतका रजौटाजस्तै गरी बेलायतले नै नेपालमाथि आफ्नो सर्वोच्चता दाबी गर्‍यो। तथापि बेलायती शासनका बेला भारत सरकारले उत्प्रेरित गर्ने खालको तामझामपूर्ण समारोहको गतिलो उदाहरण नेपालमा फेला पार्न सकिन्छ। अझ भन्ने हो भने नेपाल सरकार सैन्य चरित्रको छ। फलस्वरुप नेपालका विशाल दरबार, रङरोगन र औपचारिक समारोहहरुलाई जित्न कठिन छ। अमेरिकी मिसनको सम्मानमा आयोजित सबै औपचारिक समारोह, खासगरी राजा र महाराजको दरबारमा आयोजित समारोह र सम्झौता हस्ताक्षर कार्यक्रम झनै देख्नलायक थियो। मिसनका प्रमुख र दुई वरिष्ठ सल्लाहकारलाई जर्नेल शान्त राणाको साथमा सुन्दर चार घोडे बग्गीमा सवारी गराइयो। वरिपरि घोडचडी र पैदल सैनिकको पहरा थियो। अरु चार सल्लाहकारलाई बग्गीको पछिपछि दुई वटा सरकारी गाडीमा सवार गराइयो। प्रत्येक गाडीलाई अफिसरहरुले पहरा दिएका थिए। अघिपछि रंगीचंगी पहिरनमा सजिएका र लामालामा भाला बोकेका रिसल्लाको पहरा थियो।

 

 

समारोहहरुमा सहभागी अनेकौँ जर्नेल तथा अन्य सैनिक र गैरसैनिक अधिकारीहरुले महंगा वस्त्र तथा श्रीपेच लगाएका थिए। श्रीपेचबाट हुमायो चरा (बर्ड अफ प्याराडाइज) को प्वाँख बाहिर निस्केका थिए। जसको लम्बाइ उनीहरुको पद र हैसियतले निर्धारण गर्थ्यो। त्यस्तै श्रीपेचमा जडिएका पन्ना र अन्य आभुषणले पनि श्रीपेचधारीको पहिचान दिन्थ्यो। ती श्रीपेच यति भारी हुन्थे, तिनलाई लगाउन र उतार्न नोकरको सहयोग चाहिन्थ्यो।

अमेरिकी मिसनको टोली स्वागत होस् वा विदाइका लागि दरबार बैठकमा पुग्दा हामीलाई सजिएको सैनिक टोलीले सलामी दिन्थ्यो। बाटोमा अग्नि नियन्त्रकहरु पंक्तिबद्ध भएर उभिएका हुन्थे। सैन्य ब्यान्डले अमेरिकी राष्ट्रियगान र महाराजको गान बजाउँथ्यो। कुनैकुनै अवसरमा तोप र बन्दुक पनि पड्काइन्थ्यो। यीमध्ये सबैभन्दा धुमधामको थियो– सम्झौता हस्ताक्षर समारोह। पालैपालो अमेरिकी राष्ट्रपति, उनका निजी प्रतिनिधि र महाराजका लागि तोप पड्काएर सलामी दिइयो। त्यसका लागि नजिकैको परेड मैदानबाट हतियार ल्याइएको थियो।

सैन्य ब्यान्डको कुरा गर्दा लेखक तिनको गुणस्तरप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छ। तिनले युरोपेली संगीत असाध्यै राम्रो बजाए। रोजा अपेरादेखि लिएर सुमधुर स्थानीय संगीत पनि राम्रो बजाए। महाराजको सेवामा खटिएका अंग्रेज ब्यान्डमास्टरहरुले तिनलाई पक्कै पनि पुस्तौँसम्म तालिम दिएको हुनुपर्छ। किनभने बेलायती दूतावासमा हामीले एक अंग्रेज ब्यान्डमास्टरको चिहान समेत देखेका थियौँ। हामीले हेरेको स्थानीय नृत्यपनि कलाका हिसाबले उच्च कोटीको थियो। उनीहरुलाई वाद्यवादक र गोर्खा सैनिकको गायन टोलीले साथ दिएको थियो। स्त्री परिधानमा नर्तकहरु यति सुन्दर र मनोहर देखिन्थे, तिनीहरु सैनिक नै हुन् भन्ने विश्वास गर्न कठिन हुन्थ्यो।

 

 

सिकारप्रति नेपालीहरुको भावपूर्ण लगावलाई उल्लेख गर्न जरुरी छ। सिकारलाई लगभग उनीहरुको राष्ट्रिय खेल नै भन्न सकिन्छ। सिकार खेलिने तराई क्षेत्र भारतको सीमामा पर्छ। त्यहाँ आवातजावत सहज छ। त्यसैले कहिलेकाहीँ प्रतिष्ठित विदेशीलाई पनि सिकारमा सहभागी हुन निम्त्याइन्छ। सामान्यतः सिकार हिउँद र वसन्तमा खेलिन्छ। जसलाई अवरोध गर्ने अनुमति कसैलाई हुँदैन। प्रायः ठुल्ठूला पाटेबाघ, गैँडा, विशाल भालु र ससाना चितुवा एउटै सिकारमा मारिन्छ। महाराज चन्द्रले आफ्नो जीवनकालमा तीन सयभन्दा बढी बाघ मारेको बताइन्छ। तराईमा हात्तीमा चढेर सिकार खेलिन्छ। धेरै वटा हात्तीलाई अर्धवृत्ताकार रुपमा उभ्याइन्छ र मानिसहरुले जीवजन्तुलाई लखेटेर त्यो वृत्तभित्र पुर्‍याउँछन्। सन् १९११ मा राजा जर्ज पञ्चमका लागि आयोजित सिकारमा पाँच सय हात्ती सहभागी गराइएको थियो। भाइसराय लर्ड वेभलको सिकारमा अढाई सयभन्दा बढी हात्ती थिए।

जर्नेल नर राणाले गरेका साना सिकारका केही रोचक फिल्म हामीलाई देखाइयो। जसमा तीन हजारभन्दा बढी मानिस र एक सय हात्ती सहभागी थिए। काठमाडौँका थुप्रै दरबारमा ठुल्ठूला सिकारका क्रममा भएका वास्तविक घटनालाई वर्णन गर्ने चित्र बनाइएको पाइन्छ। सिकारप्रतिको नेपालीहरुको प्रेमको यो अर्को ज्वलन्त उदाहरण हो।

 

 

आफ्नो देशको स्थितिमा सुधार गर्ने तथा नेपाललाई अर्ध–एकान्तको स्थितिबाट क्रमिक रुपमा बाहिर निकाल्ने महाराज पद्यको प्रयासबारे पनि चर्चा गर्न आवश्यक छ। यही वर्षको मे महिनामा उनले केही परिवर्तन गर्ने घोषणा गरेका छन्। मुलुकको कट्टर हिन्दु परम्परालाई हेर्ने हो भने ती सुधार अभूतपूर्व छन्। जसमा केही निर्वाचित र केही मनोनित गरेर विधायिका स्थापना गर्ने योजना छ। त्यस्तै, न्यायप्रणालीको सुधार र पहिलो पटक छात्राहरुका लागि स्कुल स्थापनाजस्ता शैक्षिक संस्थाहरुको सुधार पनि यसमा समावेश छ। हामी नेपालबाट फर्केपछि नेपाल र भारत सरकारले एकअर्काको मुलुकमा राजदूत राख्ने घोषणा पनि गरिएको छ। बेलायत र नेपाल सरकारले आफ्नो प्रतिनिधिको दर्जा बढाएर राजदूत राख्ने भएका छन्।

अमेरिका र नेपालबीच दूत आदानप्रदान गर्ने बन्दोबस्त गरिएको छ। हालका लागि नयाँ दिल्लीस्थित हाम्रा राजदूतले नै नेपालका लागि दूतको जिम्मेवारी सम्हाल्नेछन्। त्यसैगरी दिल्लीका दुईतीन स्टाफ र कलकत्ताका एक वा दुई वाणिज्यदूतलाई नेपालको जिम्मेवारी दिइनेछ। नेपालमा स्थायी दूतावास स्थापना नगरुञ्जेल उनीहरुले काठमाडौँ भ्रमण गर्नेछन्। अर्कोतिर नेपालीहरु भने वासिङ्टनमै दूतावास खोल्ने योजनामा छन्। पहिले वासिङ्टनमा कार्यवाहक दूत पठाउने, भविष्यमा न्युयोर्कमा वाणिज्यदूत पठाउने उनीहरुको योजना छ।

 

 

अन्त्यमा, भनिरहनु नपर्ला– यस्तो सबैभन्दा रोचक र असाधारण मिसनमा सहभागी हुने अवसर प्राप्त गरेकोमा हाम्रो दलका सबै सदस्य अत्यन्त हर्षित छौँ। भलै यात्रामा हामीले केही कठिनाइ भोग्नुका साथै निकै मेहनत गर्नुपर्‍यो। सहकर्मीको यहाँभन्दा गतिलो टोली तयार गर्न सकिँदैनथ्यो भन्ने पनि लेखक उल्लेख गर्न चाहन्छ। मिसनको सफलताका लागि ऊ टोलीका हरेकप्रति ऋणी छ।

दिल्ली फर्केको भोलिपल्ट अप्रिल ३० मा हाम्रो टोली छुट्टियो। डे, जोनस्टोन र कर्णेल हस्कोट आफ्नो परिवार भेटेर दूतावसको काममा फर्किए। जोन्स र बुथ बम्बई र कराचीस्थित आआफ्नो पद सम्हाल्न पुगे। हेयर मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुअघि मध्यपूर्व र भारतीय क्षेत्रमा भ्रमणको तयारीमा लागे। आफ्ना साथीहरुलाई सम्झिरहेको लेखक भने सीधै वासिङ्टनतर्फ उड्यो। जहाँ उसको परिवार र अनेकौँ काम उसको प्रतीक्षामा थिए। वासिङ्टन छाडेको पाँच साता पुग्न एक दिनअगावै ऊ फर्कियो।

 

***
(जोसेफ सी स्याटर्थवेट अमेरिकाका तत्कालीन राष्ट्रपति ह्यारी एस ट्रुम्यानले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिइएको पत्रसहित काठमाडौं पठाएको विशेष मिसनका प्रमुख थिए। पछि विभिन्न देशको राजदूत भएका मिशिगनका जोसेफको नोभेम्बर १९९० मा निधन भयो। निकै रोचक र असाधारण त्यो अमेरिकी मिसनको नेतृत्व गरेका जोसेफको अगस्ट १९४७ मा प्रकाशित यो आलेख दि अमेरिकन फरेन सर्भिस जर्नलबाट नेपालखबरका खगेन्द्र गिरीले अनुवाद गरेका हुन्।) नेपालखबरबाट