अमेरिकाको न्युयोर्कमा कार्यरत नेपाली डाक्टरको निधन

न्युयोर्क,

मधेशी एसोसिएसन इन अमेरिकाले एक विज्ञप्ति जारी गर्दै न्युयोर्कको रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ वर्षीय डा. रोशन झाको शुक्रबार हृदयघातका कारण निधन भएको जानकारी दिएको छ ।

श्रीमती श्वेता ठाकुरसहित अमेरिका बस्दै आएका धनुषाको देवपुरा, रुपेठा घर भएका डा. झा सन् २०१८ देखि उक्त अस्पतालमा कार्यरत रहेका थिए । शुक्रबार बिहान बिरामीको चेकजाँच गरेका उनलाई दिउँसो अचानक हृदयघात भएको र त्यसलगत्तै निधन भएको बताइएको छ ।

रेजिडेन्ट कोर्सका लागि अमेरिका गएका डा. झाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका थिए ।

डा. झाको निधनप्रति मधेशी एसोसिएसन इन अमेरिकाले शोक व्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ।