अमेरिकी सुँगुरको मासु नल्याउन भन्दै ताइवानी सांसदले बैठकमै सुँगुरको मासु प्रहार गरे

ताइपेइ : ताइवानमा लामो समयदेखि मासु आयातको मुद्दा थप तनाबग्रस्त बनेको छ । सरकारले अमेरिकाबाट सुँगुरको मासु आयात गर्ने भने पनि विपक्षी दलका सांसदहरुले यसको विरोध गर्दैआएका थिए ।

 

 

सोही बहसले शुक्रबार संसदभित्र तनाबको रुप लियो । विपक्षी दल कुमिन्ताङ पार्टीका सांसदहरुले सत्तापक्षीय सांसदहरुमाथि सुँगुरको मासु प्रहार गरेका छन् । विशेषगरी संसदमा सभामुख सु त्सेङ चेङले अमेरिकाबाट आयात गर्ने भनिएको सुँगुरको मासुबारे बोल्ने क्रममा विपक्षी दलका सांसदहरुले चेङलाई नै निशाना बनाएका थिए । यद्यपि अन्य सत्तापक्षीय दलका सांसदमाथि पनि मासु प्रहार भएको थियो ।

 

 

केही महिनाअघि देखि नै सुँगुरको मासुमा मोटोपन घटाउने र्‍याक्टोपामिनयुक्त मासु अमेरिकाबाट आयात गर्ने भन्दै सरकारले पहल गर्दैआएको थियो । तर विपक्षी दलका सांसदले त्यस्तो किसिमको केमिकलयुक्त मासु मानव स्वास्थ्यका लागि हानिकारक भएको भन्दै विरोध गर्दैआएका छन् ।

यसै क्रममा विपक्षी सांसदहरुले सरकारको विरोध गर्दै संसद बैठकमै सत्तापक्षीय सांसदहरुलाई सुँगुरको मासुले प्रहार गरेका थिए ।

तर राष्ट्रपति साइ यिङ वेनले अमेरिकाबाट उक्त मासु आयात गर्ने घोषणा गरिसकेकी छन् । र उक्त घोषणा १ जनवरीदेखि लागु हुनेछ । चीन सहित अरु थुप्रै यूरोपेली देशको विरोधका बावजुद ताइवान सरकारले अमेरिकाबाट सुँगुरको मासु ल्याउने निर्णय गरेको हो ।एजेन्सी