डोनल्ड ट्रम्प चार वर्षपछि फेरि चुनाव लड्नसक्ने !

वासिंटन: अमेरिकी राष्ट्रपतिको चार वर्षे कार्यकालबाटै बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०२४ मा हुने अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिस्पर्धा गर्नसक्ने संकेत देखाएका छन् ।

 

२०१६ मा निर्वाचिन भएपछिको समयलाई ‘अचम्मको चार वर्ष’ भन्दै ट्रम्पले अर्को चार वर्षपछि फेरि भेट्नसक्ने प्रतिक्रिया दिएका थिए । ह्वाइट हाउसमा आयोजित क्रिसमस पार्टीमा रिपब्लिकन पार्टीका उच्चस्तरीय नेताहरु समेत सहभागी कार्यक्रममा ट्रम्पले यस्तो बताएका हुन् ।

‘यो अचम्मको चार वर्ष भयो, हामीले अर्को चार वर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । सम्भव भएमा म तपाईँसँग अर्को चार वर्षपछि भेट्नेछु,’ ट्रम्पले ह्वाइट हाउसबाट भनेका थिए । अमेरिकी निर्वाचन सम्बन्धी कानुन अनुसार ७४ वर्षीय ट्रम्प २०२४ को निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन् । तर त्यसबेला ट्रम्पको उमेर अहिले जो बाइडेनको उमेर बराबर हुनेछ । अर्थात ७८ वर्ष पुग्नेछन् ।

 

 

अमेरिकामा सामान्यत: कुनै पनि राष्ट्रपतिलाई लगातार दुई कार्यकाल सत्ता सञ्चालन गर्न दिइने अभ्यास छ । तर ट्रम्प त्यस्ता राष्ट्रपति हुन् जो दुई कार्यकाल सरकार चलाउन नपाउने थोरैमध्ये पर्छन् । अर्थात् पहिलो कार्यकालपछि नै उनी ह्वाइट हाउसबाट बिदा हुनुपरेको छ ।

नोभेम्बर ३ मा भएको निर्वाचनमा ट्रम्प बाइडेनसँग पराजित भएको पनि एक महिना बितिसकेको छ । यद्यपि उनी सार्वजनिक रुपमा हार स्वीकार गर्न तयार छैनन् । उनले निर्वाचन सम्बन्धी दायर गरेका ५ वटै मुद्दा अदालतले खारेज गरिदिएको छ ।

उनका वकिल र निर्वाचन आयोगका उच्चस्तरीय अधिकारीहरुले समेत निर्वाचनमा धाँधली नभएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले भने बाइडेनबाट धाँधली र ठगी भएको कुरा व्यक्त गर्न छाडेका छैनन् ।एजेन्सी