अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि पनि महाअभियोग

वासिंटन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सरकार छाड्नुअघि उनीमाथि फेरि महाअभियोग लागेको छ ।

 

एक राष्ट्रपतिमाथि दुई पटकसम्म महाभियोग लागेको अमेरिकी इतिहासमै यो पहिलो घटना हो । यही सोमबार डेमोक्रयाटिक सांसदहरुले तल्लो सदनमा ट्रम्पमाथि महाभियोग दर्ता गरेका हुन् ।

गत साता ट्रम्पको उक्साहटबाट उनका समर्थकहरुले क्यापिटल हिलमा छिरेर हिंसात्मक गतिविधि गरेपछि सोही घटनाको आधारमा महाभियोग लगाइएको हो । डेमोक्रयाटिकका सांसदहरुले यसअघि नै ट्रम्पले राजीनामा नदिए उनीमाथि महाभियोग लगाउने चेतावनी दिए पनि ट्रम्पले भने आफ्ना समर्थकहरुमाझ नियमित रुपमा उत्तेजित र विवादित अभिव्यक्ति दिँदैआएका थिए ।

 

 

अमेरिकी न्युज च्यानलका अनुसार महाभियोग प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुनेछ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यही जनवरी २० मा औपचारिक रुपमा सत्ताको जिम्मेवारी ग्रहण गर्नेछन् । तर ट्रम्पले उक्त उद्घाटन सभामा आफू उपस्थित नहुने प्रतिक्रिया दिएका छन् ।एजेन्सी