न्यायालय र मिडियाले यसरी जोगाए अमेरिकामा लोकतन्त्र

मिहिर शर्मा
नयाँ दिल्ली ,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा कायम राखिराख्न उनका समर्थकले संसद् भवनमा हुलदंगा मच्चाए। बाँकी विश्वले यो दृश्यलाई भयाक्रान्त भएर मात्र होइन, परपीडामा आनन्द लिँदै पनि हेर्‍यो।

दशकौँसम्म अन्य मुलुकको लोकतन्त्रमा रहेका कमजोरी र असफलताबारे अमेरिकाले पाठ पढाउँदै आएको थियो। अन्ततः अमेरिकाले पनि त्यस्तो लोकतन्त्रविरोधी क्षण भोग्नुपर्‍यो। जसको मजाक विश्वभर उडाइँदैछ। ‘कोभिड–१९ का कारण यात्रा प्रतिबन्ध लागेकाले यो वर्षको अमेरिका प्रायोजित कू स्वदेशमै हुनेछ,’ भारतमा ह्वाट्सएपमार्फत यस्ता चुट्किला सेयर गरिए।

 

अरुको चुट्किला त्यति हाँसउठ्दो थिएन। उत्तेजना फैल्याउने, व्यंग्य प्रहार गर्ने र तथ्य पेस गर्ने कलामा पारंगत रुसी विदेश मन्त्रालयले अफसोस प्रकट गर्दै भन्यो– अमेरिकाको निर्वाचन प्रणाली थोत्रो भइसकेको छ। यसले आधुनिक लोकतन्त्रको मापदण्ड पुरा गर्न सक्दैन।’ यो भनाइ निकै रिसउठ्दो थियो, किनभने यो सत्य हो। टर्कीले सार्वजनिक गरेको वक्तव्य त यसअघि अमेरिकी विदेशमन्त्रालयले सार्वजनिक गर्ने विज्ञप्तिकै नक्कलजस्तो थियो। अमेरिकाले जारी गर्ने एड्भाइजरीकै वाक्यांश सापटी लिँदै टर्कीले भनेको थियो– ‘अमेरिकामा रहेका टर्किस नागरिहरुलाई भीडभाडयुक्त क्षेत्रमा नजान सुझाव दिइन्छ।’

अमेरिकी संसदको तोडफोडमा अन्य मुलुकले दिएका धेरैजसो प्रतिक्रिया मनोरञ्जक छन्। त्यसको कारण बुझ्न सकिन्छ। निश्चय नै, चकित परेको कुनै अमेरिकीले आफ्नो मुलुकको भाँडभैलोलाई ‘तेस्रो मुलुकमा हुने घटनाजस्तो’ भनेर दाँजेको उदाउँदो मुलुकका कुनै पनि बासिन्दालाई चित्त बुझ्दैन। उदाहरणका लागि भारतमै बिनाकुनै चुनौती अमेरिकाको भन्दा निकै ठूलो चुनाव हुने गर्छ।

 

तर, मलाई के लाग्छ भने अमेरिकाको मजाक उडाइरहेका हामीले एक पटक गहिरो श्वास लिएर सोच्न जरुरी छ। तथ्य के हो भने अमेरिका पपुलिजमको लहरबाट निस्किन सफल भएको छ। त्यो पनि हामीभन्दा निकै राम्रो अवस्थामा।

हामीले सम्झिन जरुरी छ– डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लाग्दैछ। उनकै पार्टीका कैयौँ प्रभावशाली नेताले ट्रम्पको विरोध गरेका छन्। निर्वाचनमा उनी पराजित भएका छन्। निर्वाचनको नतिजा उल्ट्याउने उनका सबै प्रयास असफल भएका छन्। पपुलिजम अँगालेकै कारण ट्रम्पको पार्टीले राष्ट्रपतीय निर्वाचन मात्र होइन, संसदको दुवै सदनको बहुमत गुमाएको छ। ट्रम्प आफैँ पराजय स्वीकार्न बाध्य भएका छन्। यहाँभन्दा ठूलो पराजय के हुनु!

 

 

म तपाईंलाई विश्वास दिलाउन चाहन्छु– अन्य मुलुकमा निर्वाचित पपुलिस्टहरु यसैगरी सहजै पराजित हुँदैनन्। सामान्यतः त्यस्ता नेताहरु आरामले सत्तामा टिकिरहन्छन्। प्रत्येक निर्वाचनपछि उनीहरुको जितको अन्तर रहस्यमयी तरिकाले बढ्दै जान्छ।

यस्ता थुप्रै ठाउँ छन्, जहाँ चुनाव स्वतन्त्र त हुन्छ तर निष्पक्ष हुँदैन। त्यस्ता ठाउँमा निर्वाचित तानाशाह कहिल्यै पदच्युत हुँदैनन् जस्तो लाग्छ। तर, अमेरिका त्यस्ता मुलुकभित्र पर्दैन। म छक्क पर्छु– हामी कसरी अमेरिकाको मजाक उडाउने हिम्मत जुटाउँदैछौँ?

ट्रम्पले अमेरिकालाई पुर्‍याउन सक्ने र पुर्‍याएको क्षतिलाई कम आक्न म चाहन्नँ। ट्रम्प थप चार वर्ष शक्तिमा टिक्न पाएको भए के अमेरिका उनको भ्रष्ट प्रभावलाई रोक्नै नसक्नेगरी थला पर्ने थियो? यो प्रश्न पनि छ। तथापि रुसदेखि टर्कीसम्म र हंगेरीदेखि भारतसम्म– अन्य मुलुकको तुलनामा अमेरिकी संस्थाहरुको मूल्य र शक्ति ज्यादा देखियो। उदार लोकतान्त्रिक मुलुक तबसम्म मजबुत रहन्छन्, जबसम्म तिनका संस्था स्वतन्त्र र ती संस्थाका नेतृत्वकर्ता इमानदार रहन्छन्। अमेरिकी संस्था र तिनका अधिकारीहरुले आफ्नो निष्ठा कायम राखेकै कारण ट्रम्प स्वतन्त्र र निष्पक्ष चुनाव लड्न बाध्य भए। त्यसकै कारण उनी पराजित भएर पदच्यूत हुँदैछन्।

 

 

अमेरिकामा ट्रम्पले नै नियुक्त गरेका न्यायाधीशले पनि चुनावमा धाँधली भयो भन्दै परेका दर्जनौँ मुद्दाहरुलाई खारेज गरिदिए। स्वतन्त्र न्यायलयले यसैगरी काम गर्नुपर्ने हो। पोल्यान्ड र भारतका पपुलिस्ट शासकले न्यायाधीशको स्वतन्त्रता खुम्च्याउनुको कारण पनि यही हो।

अमेरिकामा रिपब्लिकन पार्टीकै अधिकारीहरु पनि ट्रम्पका विरुद्ध खडा भए। उदाहरणका लागि जर्जियाका गभर्नर र सचिवलाई लिन सकिन्छ। जसले टेलिफोनमा ट्रम्पको आदेश मान्न अस्वीकार गरे। के रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र कुनै प्रान्तको नेताबीच त्यस्तै कुराकानी हुन सम्भव छ?

अमेरिकामा सञ्चारमाध्यम ट्रम्पको शक्तिको भ्रष्टीकरणको विपक्षमा उभियो। अवैध रुपमा सत्तामा टिकिराख्ने उनकोे प्रयासबारे सञ्चारमाध्यमले निरन्तर खबरदारी र रिपोर्टिङ गर्‍यो। त्यसैबाट ट्रम्पका वकिलहरुको ठूलो अयोग्यता र तिनका तुच्छ तर्कबारे हामीले विस्तारमा थाहा पायौँ। भारतमा सञ्चारमाध्यमले सत्तारुढ दलको अयोग्यताबारे त्यति स्पष्टसँग रिपोर्टिङ गर्ने थिएनन्।

 

 

अमेरिकी असाधारणता अन्त्यको घोषणा अतिरञ्जित छ। यो कुरा हामीले स्वीकार्न जरुरी छ। विश्वका अन्य लोकतन्त्रले अमेरिकाबाट अझै सिक्न बाँकी छ। उदाहरणका लागि लोकतन्त्रका लागि कुन संस्थालाई जोगाउनु सबैभन्दा महत्वपूर्ण छ भन्ने स्पष्ट भएको छ। त्यो हो– न्यायापालिका। पपुलिजमको कोइलाखानीमा खतराको सूचना दिने पंक्षी हो न्यायपालिकाको स्वतन्त्रता। मेक्सिकोका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर हुन् या फिलिपिन्सका रोड्रिगो डुटेर्टे, तानाशाह बन्न चाहने हरेक शासकले सबैभन्दा पहिले सुनिश्चित गर्नुपर्ने हुन्छ– आफूले भनेको अदालतले थपक्क मानोस्।

अमेरिकालाई लज्जित तुल्याउने घटना र त्यहाँका विश्लेषक तथा राजनीतिकर्मीको अतिरञ्जित छाती पिटाइमा केही दिन हाँसेर मजा लिनु ठिकै हो। तर, त्यसपछि भने हामीले आफैँलाई राम्ररी नियालौँ। अनि हाम्रो आफ्नै लोकतन्त्रको स्वास्थ्य कसरी फर्काउने भनेर विचार गरौँ। एजेन्सी

(ब्लुमवर्गबाट। मिहिर शर्मा ‘रिस्टार्टः द लास्ट चान्स फर द इन्डियन इकोनोमी’ पुस्तकका लेखक हुन्)