अर्जेन्टिनामा कोरोना खोपको दुरुपयोग भएपछि स्वास्थ्यमन्त्रीले राजीनामा दिए

अर्जेन्टिना: प्राथमिकताको सूचीमा नपरेका मानिसहरुले अनधिकृत रुपमा कोरोनाविरुद्धको खोप लगाएपछि अर्जेन्टिनाका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

स्वास्थ्यमन्त्री गीन्स गोन्जालेज गार्सियाले शुक्रबार अचानक राजीनामा दिएका हुन् । आफू बाहिर भएका बेला अनावस्यक रुपमा गोलमाल गरेर केही व्यक्तिहरुले खोप लगाएकोमा आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन् ।

 

यसबारे अनधिकृत रुपमा खोपको दुरुपोग गरेको भन्दै मिडियामा समेत समाचार आएपछि मन्त्रीलाई दबाब सिर्जना भएको थियो । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले मन्त्री गीन्समाथि आरोप लागेपछि राजीनामाका लागि सोधेको पनि स्थानीय मिडियाले जनाएका छन् ।

जहाँ १० व्यक्तिले उचित प्रक्रिया विना नै खोप लिएको र तीमध्ये वरिष्ठ पत्रकार समेत भएको बताइएको छ । उक्त खोप प्रकरणसँगै स्वास्थ्यमन्त्रीबारे पनि अनेक टिप्पणी आउन थालेपछि राजीनामा आएको थियो ।

 

खोप लगाउनेमध्ये चर्चित पत्रकार होरासिओ भर्बित्स्कीले मन्त्रीसँग पहुँचका आधारमा आफूले खोप लगाउन सफल भएको प्रतिक्रिया दिएका थिए । उनले आफ्नो पुरानो साथी समेत रहेका मन्त्रीलाई फोन गरेपछि अस्पताल गएर खोप लगाउन सुझाव दिएको प्रतिक्रिया दिएका थिए ।

गत डिसेम्बरदेखि नै अर्जेन्टिनाले रुसले विकास गरेको स्पुतनीक भी खोप वितरण गर्दैआएको छ । अर्जेन्टिनामा २ लाख ५० हजार नागरिकले खोपका २ डोज ग्रहण गरिसकेका छन् । ४ करोड ५० लाख भन्दा धेरै नागरिक रहेको अर्जेन्टिनामा २० लाख भन्दा धेरै संक्रमित छन् । तीमध्ये ५१ हजारको मृत्यु भइसकेको छ ।एजेन्सी