धम्पुस चुचुरोका आरोहीको अनुभवः उचाइसँगै आत्मविश्वास बढ्यो

पोखरा, फागुन १२ गते । ‘मानिसको जीवनमा धेरै रहर हुने गर्छन्, कुनै पूरा हुन्छन् कुनै हुँदैनन् । मलाइ पनि हिउँसँगको चुचुरोमा पुग्ने रहर निकै थियो पूरा भयो’ माघको ३ गते धम्पुस पिक (६०१२ मिटर) आरोहण गर्न सफल ४३ वर्षीय हीराकुमारी मल्ल एउटा सपना पूरा भएको अनुभव सुनाउँदै भन्नुभयो । “म सन् २००७ बाट ट्रेकिङ गाइडका रुपमा काम गर्दै आएकी छु, विदेशी पर्यटकलाई नेपालको भूगोल, रहनसहन र संस्कृतिका बारेमा बुझाउँदै र हिमालका चुचुरो देखाउँदै जाँदा मलाई पनि त्यहाँ पुग्ने रहर जाग्यो, चुचुरोमा पुग्न आँट चाहिने रहेछ, अन्ततः सफल भएँ ।”

उहाँले सफल हुन चुनौतीको पहाड त चढ्नैपर्ने रहेछ त्यो पार गरेपछि सफलता मिल्छ भन्ने शिक्षा र आत्मविश्वास आरोहण पछि पाएको बताउनुभयो ।

 

 

मनाङ कि ३३ वर्षीय मनु गुरुङ पनि झण्डै आधा दर्जनभन्दा बढी चुुचुरोमा पुग्नुभएको छ । अझै अग्ला हिमाल चढ्ने रहर पनि साँचिरहनुभएको छ । “म ट्रेकिङ क्षेत्रबाट माउन्टेन क्लाइम्बिङको अनुभव बटुल्दैछु, टेन पिक, चुलो वेष्ट, अन्नपूर्णलगायत झण्डै आधा दर्जन पिकको सफल आरोहण गरेकी छु, पछिल्लो पटक धम्पुस पिकको अनुभव केही फरक रह्यो ।”
गुरुङले अत्यधिक हावाको वेग र चिसोले गर्दा केही कठिनाइ भएको सुनाउनुभयो । हिमाल आरोहणप्रतिको रुचिका बारेमा गुरुङले भन्नुभयो, “म नेपालकी छोरी, डाँडापाखा कन्दरा कति गरेकी छु, चुचुराको फेदमा कैयाैं पटक पुगेकी छु तर चुचुरो उक्लने कुरामा हामीलाई विश्वास नगरिँदो रहेछ ।” उहाँले २०१३ मा एउटा पिक चढ्न जाँदाको अनुभव सुनाउँदै भन्नुभयो “म केही समय अघि हिमाल आरोहणको तयारी गरेकी थिएँ तर त्यहाँका केही मानिसहरुले मलाई विदेशीसँग बिहे गरेर आएको हो ? नत्र एक्लै महिलाले कहाँ हिमाल चढ्न सक्छन् भनियो, मलाई यो कुराले निकै चोट पुग्यो । आफ्नै भूभागका चुचुरोमा पुग्न विदेशीसँग बिहे गर्नुपर्ने वा अरुको सहारामा मात्र उक्लनुपर्ने हो र ? किन विश्वास नगरेका आफ्नै चेलीहरुलाई” गुरुङले भन्नुभयो “मलाई यस्तै यस्तै कुराले पनि थप प्रेरणा मिल्यो र म चुचुरोमा उक्लिन थालेँ र सफल पनि भएँ ।”
उहाँले कठिनाइसँग जुधेर आत्मविश्वास जगाउन सके असम्भव भन्ने केही नहुने बताउनुभयो । आफूमा विश्वास गर्न सक्यो भने ९० प्रतिशत सफलता आफ्नो पक्षमा हुने उहाँको दाबी छ ।

 

म्याग्दीका ३४ वर्षीय ¥याफ्टिङ गाइड सनकुमार जुग्जाली खोलामा पौडिरहेको मानिस चुचुरोमा पुग्दाको अनुभव बटुल्ने आरोहरण गरेको बताउनुहुन्छ । “समुद्री सतहबाट उच्च तहसम्मको अनुभव बटुल्न मन लाग्यो । केही दिनको तालिमले ऊर्जा मिल्यो अनि छ हजार मिटरको चुली उक्लन सफल भइयो ।”
जुग्जालीले धम्पुस पिकको आरोहरणको सफलताले अन्य चुचुरोमा पनि पुग्न ऊर्जा मिलेको बताउनुभयो । ट्रेकिङ् गाइड समेत रहनुभएका जुग्जाली पर्यटन क्षेत्रमा यस्ता गतिविधिका बारेमा अनुभव हुन जरुरी ठान्नुहुन्छ । उहाँले आफ्नो अनुभवलाई पर्वतीय पर्यटन प्रवर्धनका लागि प्रयोग गर्ने बताउनुभयो ।
गएको कम्तीमा १५ वर्ष अघिदेखि मर्दी हिमालको बेसक्याम्पमा ट्रेकर्स प्याराडाइज रेष्टुरेण्ट सञ्चालन गर्नुभएका होटल व्यवसायी सुदीप गौतम पनि हिमालको फेदमा बस्नु र चुचोरामा पुग्नु फरक भएको अनुभव सुनाउनुहुन्छ । “म सानै उमेरदेखि मर्दी हिमालको फेदमा होटल व्यवसायमा आवद्ध छु, तर आँखा अगाडि देखिरहने हिमालहरुको चुचुरोमा पुग्न सहज रहेनछ । जब कठिनाइहरु चिर्दै अगाडि बढियो जीवनमा सफलता पाउन पनि सहज रहेनछ भन्ने शिक्षा हासिल गरियोे ।”
गौतमले हिउँ हुँदा र हिउँ नहुँदा दुबै समयमा कठिन भएको अनुभव सुनाउनुभयो । “प्रतिघण्टा ७५ किलोमिटरको हावाको वेगले धानिन नसक्दाको अनुभव अविस्मरणीय रह्यो । छ हजार १२ मिटरको उचाइमा पुगेपछि खुशीका आँशु झरे, आनन्द लाग्यो ।” गौतमले जीवनको मिठो अनुभवलाई व्यावहारिक जीवनमा पनि प्रयोग गरेर अघि बढ्ने बताउनुभयो ।
नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेशका सचिव गौतमले नेपालको पदयात्रा पर्यटन मोटर गुड्न मिल्ने बाटोले गर्दा नासिदै गएको अवस्थामा अब पर्वतीय पर्यटनबाट पर्यटन बजारलाई विस्तार गर्नुपर्ने धारणा राख्नुहुन्छ । “विश्वमा १४, नेपालमा आठ र गण्डकी प्रदेशमा मात्र तीनवटा आठहजार मिटर अग्ला हिमाल छन् । योसँगै अनगन्ती पिकहरु यस क्षेत्रमा छन् यसको प्रवर्धन गर्न सके अब विश्व जगतमा पर्वतारोहण पर्यटनलाई विकाउन सकिन्छ ।” गौतमले भन्नुभयो ।

 

कास्की मादी गाउँपालिकाका दीपेशबाबु सुवेदी सन् २००४ बाट ट्रेकिङ क्षेत्रमा प्रवेश गरेर पदयात्रा पर्यटनको अनुभव लिए पनि पिकको आरोहण पहिलो पल्ट गरेको बताउनुहुन्छ । “पदप्रदर्शक भएर काम गर्दा धेरै पटक पाँच हजार पाँच सयको उचाइमा टल्केका हिमालहरुसँग आँखा जुधाउँदै हिँडियो तर धेरैपछि मात्र ती चुचुरोमा पुग्ने अवसर मिल्यो ।” सुवेदीले सोचेको कुरा पुगेपछि निकै खुशी लागेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा कुनै कुराको अनुभव आवश्यक रहेको जनाउँदै अब ‘माउण्टेन क्लाइमिङ’ को अनुभवले यस क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लोमाङथाङ गाउँपालिका– ४ का ५२ वर्षीय टासि पासाङ गुरुङसँग पनि पहिलो पटक छ हजार मिटरको चुचुरोमा पुग्दा निकै खुशी लागेको अनुभव छ । “सोह्र वर्षदेखि पथप्रदर्शक र हाल टे«किङ व्यवसायमा आबद्ध छु, धेरै पल्ट उचाइमा पुगे पनि माउण्टेन क्याइमिङ अनुभव पहिलो पल्ट लिन पाएँ” गुरुङले भन्नुभयो “पिक आरोहणको समयमा पाँच हजार ८५० मिटरमा पुगेपछि निकै बेगले चलेको हावाले निकै गाह्रो भयो, मुख छोप्दा सास फेर्न गाह्रो, नछोप्दा चिसोले हानेर गाह्रो तर जसरी पनि हामी विचलित भएनौँ हाम्रो लक्ष्यमा पुग्यौँ” उहाँले चुचुरोमा पुगेपछि एकअर्कालाई अंकमाल गरेर खुशी साटासाट गरेको र केहीबेर चुचुरोमा फोटो खिचेर फर्किएको बताउनुभयो । उमेरले सबै आरोहीभन्दा जेठा उहाँले अरु चुचुरोको चढ्न आत्मविश्वास बढेको उहाँको अनुभव छ ।
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजनामा माघ ३ गते १० जना आरोही धम्पुस पिक (थापापिक उपनामले पनि चिनिने) पुगेका थिए । चार जना मौसमको प्रतिकूलता कारण बीचबाट फर्किए भने बाँकी छ जना आरोहण गर्न सफल भएका संघका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशका पिकहरुको प्रवर्धन गरेर पर्वतीय पर्वतारोहणको लागि एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्न पहिलो पटक धम्पुस पिक आरोहण गराइएको बताउनुभयो । “गण्डकी पर्वतीय गतिविधिमा पछाडि परेको महसुस हामीले गरेका छाैं, यस क्षेत्रका हिउँचुचुराहरुको आधिकारिक तथ्याङ्क अझै सङ्कलन हुन सकेको छैन । यस क्षेत्रका हिमालहरुको प्रोफाइल तयार गर्न प्रदेश सरकारसँग आग्रह गरेका छौँ ।” उहाँले प्रदेशमा १८ वटा अहिलेसम्म नचढिएका पिक रहेका पछिल्लो समय जानकारीमा आएको बताउनुभयो ।

 

गण्डकी प्रदेशमा सुन्दर हिमश्रृंखलाका उच्च नमुना भए पनि यसलाई बेच्न नसकिएकोले अब प्रचारप्रसारसहित प्रवर्धनमा जुट्ने उहाँको भनाइ छ । “साहसिक गतिविधि अन्तर्गत पर्ने यस क्षेत्रमा धेरै आन्तरिक तथा बाह्य पर्यटकको रुचि देखिन्छ, तर तालिम दिने दक्ष जनशक्तिको कमि छ, त्यसैले तालिमलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।” उहाँले हालै प्रारम्भिक पर्वतारोहरण प्रवर्धनात्मक तालिममार्फत मध्यमस्तरका चुचुरोलाई प्राथमिकता दिएर धम्पुस पिक आरोहरण गराइएको जानकारी दिनुभयो । चुचुरो आरोहणका लागि एनएमए सर्टिफाइड प्रशिक्षक आशिष गुरुङ र अनुप गुरुङ हुनुहुन्थ्यो । छ हजार मिटर माथिका चुचुरोमा आरोहणका लागि मनाङमा पर्वतारोहणको तालिम केन्द्र छ । त्यहाँ आधारभूत पर्वतारोहण तालिम सञ्चालन हुँदै आएको छ भने सगरमाथा क्षेत्रमा ए्ड्भान्स तालिम दिइने गरिएको छ ।
उहाँले प्रदेश सरकारसँग हिम चुचुरोको स्पष्ट सङ्ख्या र पिक प्रोपाइल बनाउन आग्रहसँगै, पर्वतीय क्षेत्रमा हुने दुर्घटनामा तत्काल उद्धार गर्ने तालिमप्राप्त जनशक्ति नभएकाले १०÷१५ जना ‘डेडिकेटेट टिम’ सहित आवश्यक उपकरणको व्यवस्था गर्न माग गरिएको जानकारी दिनुभयो ।
शर्माका अनुसार छ हजार मिटरका चुचुरो आरोहरणको लागि एक जनाको रु ५० हजारदेखि एक लाखसम्म खर्च लाग्ने गर्दछ । एकजनाको रु पच्चीस हजार जति बीमामै खर्च हुन्छ भने अन्य पर्वतारोहण सामग्रीका लागि खर्च हुने गर्दछ ।रासस