कार बेचेरभन्दा बढी मुनाफा बिट्क्वाइनबाट कमाउने बाटोमा टेस्ला

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लो आफूले बनाएको कार बेचेर भन्दा धेरै मुनाफा बिट्क्वाइनबाट कमाउने देखिएको छ ।

वेडबुश सेक्युरिटिजका विश्लेषक ड्यानिएल इभ्सका अनुसार बिट्क्वाइनमा गरेको लगानीबाट कम्पनीलाई करीब १ अर्ब डलर फाइदा भएको छ ।

कम्पनीले सन् २०२० मा सबै विद्युतीय कार बेचेर कमाएको भन्दा बढी मुनाफा हालैका बिट्क्वाइनमा गरेको लगानीबाट कमाउने क्रमा रहेको शनिवार सार्वजनिक एक नोटमा इभ्सको प्रक्षेपण छ ।

कम्पनीले लगानीको थप विविधिकरण र अत्यधिक प्रतिफल सुनिश्चितका लागि डेढ अर्ब डलर बराबरको बिट्क्वाइन किनेको यसै महीनाको शुरुमा कम्पनीले अमेरिकी शेयर नियामक सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनमा पेश गरेको फाइलिङमा खुलासा गरिएको थियो । कम्पनीले बिट्क्वाइन जनवरीमा किनेको थियो । कम्पनीले बिट्क्वाइन कतिमा किन्यो भन्ने कुरा खुलाइएको छैन ।

कम्पनीले अहिलेसम्म बिट्क्वाइन बेच्यो कि बेचेन भन्ने पनि अस्पष्ट नै छ । यस वर्षको अहिलेसम्मको अवधिमा बिट्क्वाइनको भाउ ९४ प्रतिशतसम्म बढेको छ । हालैका दिनमा यसले नयाँ नयाँ उचाई छोइरहेको छ । गत हप्ता मात्रै यसको बजार पूँजीकरण पहिलो पटक १० खर्ब डलर माथि उक्लिएको थियो । एजेन्सी