ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए, भट्टराई नियुक्त

काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद विशाल भट्टराईलाई दिनुभएको छ । यसअघि देवप्रसाद गुरुङ सो जिम्मेवारीमा हुनुहुन्थ्यो ।

 

दलभित्र विवाद शुरु भएपछि दुई समूहमा पुगेको नेकपाभित्र अहिले जिम्मेवारी हेरफेरको क्रम जारी छ । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार भट्टराईलाई आजै नयाँ जिम्मेवारी दिइएको छ । “आज शुक्रबारबाट लागू हुनेगरी संसदीय दलका नेता तथा अध्यक्ष ओलीले सांसद भट्टराईलाई सो जिम्मेवारी दिनुभएको हो” उहाँले भन्नुभयो । नेकपा संसदीय दलको सचेतकको जिम्मेवारीमा शान्ता चौधरी रहनुभएको छ ।
नयाँ जिम्मेवारी पाएपछि आफू उत्साहित भएको बताउनुहुँदै प्रमुख सचेतक भट्टराईले गोरखापत्र अनलाइनलाई भन्नुभयो, “दलको भावना अनुकूल काम गर्नेछु, संसदीय दललाई प्रभावकारी र चुस्त बनाउनमा लाग्नेछु ।”