फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौं । नेपाल आयल निगमले सोमबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।

निगमले राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल, मट्टितेलमा समान २/२ रुपैयाँका दरले मूल्य समायोजन गरेको जनाएको छ ।

त्यस्तै आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ । ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ ।

उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा एक अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ ।

नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६, डिजेलमा ८.२२, मट्टितेल नोक्सान हुने जनाइएको छ ।