नेपालमा संकटकाल नै विकल्प

सन्तलाल रिसाल, न्यूयोर्क, अमेरिका

नेपालमा सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गरेसँगै मुलुक थप अस्थिरता र संवैधानिक संकटतर्फ धेकेलिएको छ । बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाट सरकारलाई काम गर्न नदिएपछि नयाँ निकासका लागि संसद् विघटन गरी आगामी बैशाखमा आम निर्वाचन गराउने निर्णय गरेका थिए । तर संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले संसद् विघटन गर्न प्रधानमन्त्रीले नपाउने फैसला गरेसँगै अब तत्काल नयाँ विकल्प नचालिए संसद्मा पुरानै रोग सांसद किनबेचका घृणित खेल र अस्थिर सरकारको खेल हुनेछ जुन नेपालकालागि दुर्भाग्य हुनेछ । यो अवस्था रोक्न प्रधानमन्त्री ओलीले तत्काल संकटकाल लगाएर मुलुकको आर्थिक र सामाजिक अवस्था जोगाउनु उपयुक्त विकल्प हुनेछ ।

 

 

नेपाली जनताले राजनीतिक अस्थिरता अन्त्य गर्न नेकपालाई अत्यधिक बहुमत दिएर ओलीलाई प्रधानमन्त्री बनाएका हुन् । ओलीले तीन वर्षको अवधिमा मुलुकमा राम्रो काम गरेका थिए । नेपालको स्वाभिमान निहुराउने काम गरेका थिएनन् । उनले गरेको कामले ओझेलमा परिन्छ, प्रधानमन्त्री, पार्टी अध्यक्ष बन्न पाइँदैन भन्ने लोभ र कुण्ठाले प्रचण्ड, नेपाल र खनालले असफल बनाउने खेल खलिरहे । उनीहरुले ओलीलाई हटाउने षडयन्त्र गरी अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीले जनतासमक्ष जाने निर्णय गरे । बहुमत प्राप्त प्रधानमन्त्री जनतासमक्ष जाने निर्णय असंवैधानिक थिएन । तर सर्वोच्च अदालतले असंवैधानिक भनी रोकिदियो । अदालतको यो फैसलाले अब नेपालमा राजनीतिक स्थिरता नहुने केबल सत्ताका लागिमात्र पैसाको लेनदेन हुने र मुलुक चरम संकटमा फस्ने खतरा बढेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले हिम्मत गरेर मुलुक जोगाउन संकटकाल लगाउनुको विकल्प छैन ।

सर्वोच्चको फैसलासँगै हौसिएका प्रचण्ड र नेपालले ओलीलाई अविश्वासको प्रस्ताव ल्याई हटाउने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन देउवासँग भेटघाट गरी अनुरोध गरेका छन् । देउवा प्रधानमन्त्री बन्न तयार छन् । तर देउवा प्रधानमन्त्री बन्दा विगतमा के भयो ? मुलुकमा के कस्ता विसंगति र विकृति आए ? सबै भुक्तभोगी हुँदा पनि प्रचण्डले फेरि यस्तो खेल किन खेल्दै छन् ? सोच्नुपर्ने भएको छ

 

 

कसैबाट सञ्चालित प्रचण्डको काम नै नेपाललाई तहसनहस पार्नु हो । उनले नेपाल बनाउने होइन विगार्ने,हिंसा, अराजकता, भ्रष्टाचार, लुटपाट मच्चाई नेपाललाई ध्वस्त पार्न कसैको इसारामा काम गर्दै आएका छन् । १७ हजारभन्दा बढी नेपाली मारेका, हजारौँलाई बेपत्ता र लाखौँलाई घाइते पारेका प्रचण्ड यो मुलुकको लागि अभिशाप नै हो । यस्तो अपराधी नेतालाई कारबाही नगरी संरक्षण गर्नु नै नेपाल नै असफलताको प्रमुख कारण बन्दैछ ।
नेपाललाई तहस नहस पार्न मुख्य भूमिका खेल्दै आएका प्रचण्डले अहिले नेकपालाई तहसनहस पर्ने र मुलुकलाई अर्को संकटमा फसाउन चाहिरहेका छन् । उनको षडयन्त्रलाई पद पाउने लोभमा नेपाल र खनालले साथ दिनु उनीहरुको पनि पतनको बाटो हो । अहिले नेपाल र खनालले नचाहेको भए प्रचण्ड एक्लैले षडयन्त्र गरे पनि सफल हुने थिएन । नेपाल र खनालले ओलीलाई साथ नदिई प्रचण्डको पछि लाग्नु उनीहरु पनि असफल हुनु हो । प्रचण्ड,नेपाल र खनालको पछिल्लो गठजोडले मुलुक बर्वादबाहेक अरु केही हुने छैन । यस्तो अवस्थामा नेपाली जनता सचेत भई ओलीलाई साथ नदिने र चुनावमा पराजित काँग्रेसलाई सत्ता सुम्पने प्रचण्ड र नेपालको खेललाई समर्थन गर्ने हो भने मुलुक उठ्नै नसक्ने गरी संकटमा फस्नेछ । जनताले कुनै पनि क्षेत्रमा राहत पाउने छैनन् । यस्तो अवस्था आउन दिने कि नदिने ? नेपाल बचाउन अहिले ओलीको विकल्प खोज्नु हुँदैन । ओलीबाटमात्र निकास सम्भव छ ।
अदालतले जनादेशमा जान ओलीलाई रोके पनि ओलीकासामु नयाँ विकल्प छन् । ती विकल्पमा ओली जानैपर्छ । ओलीले राजीनामा दिँदा मुलुकले निकास पाउँदैन झन् तहसनहस हुने अवस्था आउने भएकाले तत्काल संकटकाल लगाई देशद्रोही अराजकता निम्त्याउन खोज्ने प्रचण्ड, नेपालहरुलाई जेल हाल्ने हिम्मत गर्नुपर्छ । ओलीको आधा शताब्दी लामो राजनीतिक जीवन समाप्त पार्न खोज्ने, मुलुकलाई समाप्त पार्ने र विदेशीलाई सुम्पने षडयन्त्रमा लागेका प्रचण्डहरुलाई छाडा छाडिदिने हो भने नेपालमा कोही पनि सुरक्षित हुने छैनन् । यो कुरालाई ओलीले आत्मसात गरी अब नयाँ कदम चाल्न ढिला गर्नु हुँदैन ।
ओलीलाई असफल बनाउन देशी विदेशी सबै षडयन्त्रकारीहरु लागे पनि उनले राष्ट्रवादी नेपालीहरुलाई साथ लिएर अगाडि बढ्ने हो भने जतिसुकै षडयन्त्र गरे पनि यो षडयन्त्र विफल पार्न सकिन्छ । राष्ट्रवादी नेपालीहरुले ओलीलाई चाहेका छन् । ओलीले तत्कालै नेपाली जनताको भावना अनुसार हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गरी मुलुक बचाउने ऐतिहासिक जिम्मेवारी पूरा गरी राजनेता बन्न सकून् भन्ने अपेक्षा गरेका छन् । यसका लागि उनले संकटकाल लगाई २०४७ सालको संविधानमा टेकेर आम राष्ट्रवादी नेपालीहरुलाई साथ लिई अगाडि बढ्नुपर्छ । नेपालमा संघीयता र धर्मनिरपेक्षता जवर्जस्त लादिएका हुन् । नेपाल र नेपालकाको भावनविपरीतका यी व्यवस्था खारेज गरी नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ । संघीयतालाई खारेज गर्नैपर्छ किनभने नेपालले संघीयता धान्नै सक्दैन । यस्तो व्यवस्था नेपाललाई आवश्यक नै छैन ।

 

नेपाल र नेपाली जनताको चाहना अनुसार काम गरिरहेका ओलीलाई हटाउन जेजस्तो षडयन्त्र भइरहेको छ यसलाई असफल पार्न ओलीले नै हिम्मत गरी तत्काल संकटकाल लगाउनुपर्छ र नयाँ जोश र जाँगरका साथ नेपाली जनताको भावना अनुरुप अगाडि बढ्नुपर्छ । ओलीलाई हटाई देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डहरु सफल भए भने मुुलुकचाहिँ असफल हुनेछ । किनभने पाँच पटक सम्म प्रधानन्त्री बनेका देउवाले मुलुकलाई तहसनहस पर्ने, विकृति र विसंगति भित्र्याउनेबाहेक अरु काम गरेनन् । नालायक र असफल प्रधानमन्त्री भनी राजाबाट हटाइएका देउवाले गर्दा नै काँग्रेस यो घर न घाटको अवस्थामा पुगेका हो । यस्ता असफल र नालायक नेताले न पार्टी चलाउन सक्छन् नत मुलुकलाई नै निकास दिन सक्छन् । अब देउवालाई प्रधानमन्त्री बनाउनु भनेको नेपाललाई समाप्त पार्नु हो ।
त्यसैले मुलुक जोगाउन ओलीले हिम्मत गर्नैपर्छ । अहिले राजीनामा दिएर ओली अलग हुने हो भने मुलुकको भविष्य अन्धकारमा जानेछ । किनभने ओलीजस्तो नेता अरु देखिएनन् र अहिले छैनन् पनि । ओलीलेमात्रै नेपालको स्वाभिमान बचाउन सक्छन् । ओली तानाशाही शासक पनि होइनन् र निरंकुश शासक पनि होइनन् नेपाल र नेपालीको हित चिताउने नेता हुन् । नेपाल र नेपालीको शिर ठाडो पार्ने विदेशीसामु नझुक्ने स्वाभिमानी नेता ओलीले अहिले उनीविरुद्धका सबैखाले षडयन्त्र विफल पार्न तत्काल संकटकाल घोषणा गरी नयाँ कदम चाल्नैपर्छ नत्र षडयन्त्रकारीहरुलले ओलीको राजनीतिक भविष्य पनि समाप्त पारिदिनेछन् र मुलुकलाई पनि अस्थिरता र विनासको दलदलमा फसाइदिनेछन् । यो कुरा ओलीलाई राम्ररी थाहा छ । यो षडयन्त्र विफल पार्न आम नेपाली जनताले ओलीलाई साथ दिनुपर्छ असफल देउवालाई सत्तामा ल्याउने खेल सफल हुन दिनु हुँदैन ।