सरकार र नेकपा बीचको सहमतिमा हस्ताक्षर,यस्ता छन् सहमतिका तीन बुँदा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीवार भएको सहमतिमा शुक्रवार हस्ताक्षर भएको छ ।

 

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ मा हस्ताक्षर गरे।

 

दुवैपक्ष बीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीन बूँदे सहमति भएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताए।

‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी रकेही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ’, उनले भने, ‘नेपाल देशलाई एउटा आन्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ। यो भित्र देशमा दीर्घ शान्ति, स्थिरिता कायम गर्ने र समृद्ध जीवनको चाहना रहेको छ।’

 

यस्ता छन् सहमतिका तीन बुँदा

१. दुवै पक्ष नेपाल सरकार र नेकपा वार्ता र संवादबाट समस्या समाधान गर्न सहमत भएका छन्।

२. नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमति भएकाे छ।

३. सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन, जेलमा रहेका बन्दी रिहाइ गर्न र नेकपा नेतामाथिका सबै मुद्दा खारेज गर्ने सहमति भएकाे छ।