क्यारम बोर्ड !

बिकास बिस्ट

न्युयोर्क, अमेरिका

रानी खानु भन्दा पहिले सानी खानु पर्छ ,
कालो सेतो गोटी पहिले मार्नु पर्छ !
प्वालमा पसाल्न पाउडर छर्केर भए पनि
गोटी लाई एम्बस पार्नु पर्छ ,
सपना बुनेर सुतेका लाई ब्युझाउन
तातो थाप्ने छाति ढाल बनाए झै,
रातमा होमवर्क गर्न कलम समाएको हात
मसाल जुलुसको राको दन्काए झै ,
असारे गर्न हिडेको हलीलाई बन्दुक थमाए झै ,
रानी खानु भन्दा पहिले खानु पर्छ सेता काला गोटीहरु
स्ट्राइगर ताक्ने चालहरु !
तिम्रो होड बाजीमा
रैथाने बटाइ चरा
क्यारम बोर्डमा सेता काला गोटी बनेर बिस्कुन लाग्नु पर्ने ?
तिम्रो हारजितमा महामारीले थला परेको ज्यान मुख छोपेर गुफा बस्नु पर्नेमा चर्को आवाजमा खुला कुद्नु पर्ने ?
छ फिट त कता हो कता ?
ठेलाम ठेल चार गोटी एकै पटक घुसेर तिम्रो बिजयमा सहिद बन्नु पर्ने ?
सबै गोटी कित्ता काट हुने ?
दुबै साइडमा चा ङ लागेर ?
गोटी गनी रहेछ स्ट्राइगर,
बिचरा क्यारम बोर्ड रितै !
आखिर क्यारम बोर्ड हारेको छ एक्लै !