तलब नै नलिंदा पनि बोइङका सीईओले पाए २ करोड डलरभन्दा धेरै

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड कलहाउनले गत वर्ष तलब लिन मानेन् । तर बेच्न मिल्ने शेयर भने लिए ।

यसले उनको सेवा सुविधाको आकार २ करोड १० लाख डलरमा पुर्‍याएको शुक्रवारको नियामक फाइलिङले देखाएको हो । अघिल्लो वर्ष २ ओटा ७३७ म्याक्स विमान दूघर्टनाका कारण उत्पन्न संकट र कोरोना भाइरसको महामारी बीच विमानको माग घट्दा सन् २०२० कम्पनीको लागि निकै कष्टपूर्ण रह्यो । कम्पनीले करीब १२ अर्ब डलर गुमायो ।

 

कर्मचारी कटौतीको कार्यक्रमबाट करीब ३० हजार कर्मचारीलाई कामबाट निकाल्यो । कलहाउन गत वर्ष कम्पनीको सीईओ बनेका थिए । गत वर्षको मार्चमा तलब नलिने घोषणा गर्नु अघिको अवधिमा भने उनले तलबबापत २ लाख ६९ हजार २३१ थापेका थिए ।

कम्पनीको विमान प्रयोग, सेवानिवृत्ति लाभ र घरको सुरक्षा खर्च लगायतमा पनि उनले २ लाख ८० हजार ७१५ डलर लिए । तर कलहाउनको अधिकांश सेवा सुविधाबापतको २ करोड डलरभन्दा धेरै चाहीं बेच्न मिल्ने शेयरबापतको हो ।

 

उनी सीईओ रहिरहे भने आगामी वर्षहरुमा उनले सो शेयर लाभ पाउनेछन् । सो रकममा ७३७ म्याक्सलाई सेवामा फर्काएबापतको ७० लाख डलरको शेयर, ब्ल्याकस्टोन गु्रपमा अघिल्लो जागिर छाडेपछिको क्षतिपूर्ति बापतको १ करोड डलर मूल्य बराबरको शेयर र दीर्घकालीन प्रोत्साहन अवार्ड बापतको ३५ लाख डलर रहेको छ । यो सबै उनले आगामी तीन वर्षभित्र पाउनेछन् । रासस/ एपी