अमेरिकामा जातीय हिंसाबारे प्रख्यात डिजाइनर प्रबल गुरुङ भन्छन्: आमालाई खैरो विग र ह्याट लगाउनु भनें

प्रबल गुरुङ नेपाली मूलका चर्चित अमेरिकी फेसन डिजाइनर हुन्।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकाकै पूर्व फर्स्ट लेडी मिसेल ओबामा र बेलायती राजकुमारी डचेस अफ क्याम्ब्रिज केट मिडलटनको पोशाकको डिजाइन गरेर विश्वचर्चित बनेका प्रबल अमेरिकामा समावेशीता र विविधताको मुखर समर्थक मानिन्छन्।

 

सन् २००९ मा आफ्नो कम्पनी प्रबल गुरुङ कलेक्सन खोलेका उनी त्यसका डिजाइनमार्फत् संसारभर आफूलाई चिनाएका छन्।

कोरोना भाइरसको प्रकोपसँगै अमेरिकामा एसियाली मूलका अमेरिकीमाथि आक्रमणको घटना बढ्दो छ। चिनियाँजस्ता देखिने मानिसमाथि भौतिक आक्रमण नै भइरहेका छन्।

एसियाली अमेरिकीमाथि अमेरिकामा घृणा फैलिरहँदा गुरुङले न्युयोर्क टाइम्ससँग यस्तै विभेदका अनुभव, उनका काम र योसँग सम्बन्धित विषयबारे कुरा गरेका छन्।

 

 

अहिलेका घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ?
६५ वर्षकी एसियाली–अमेरिकी महिलामाथि क्रूर आक्रमण भएको भिडिओ देख्दा म मात्र नभएर मेरा साथीहरु र मेरा समुदायका मानिसहरु दुखी र निराश भएका छन्। हामी सबै आफ्ना प्रियजनहरूका लागि चिन्तित बनेका छौं। मेरी आमा हरेक बिहान र साँझ बाहिर हिँडडुल गर्नुहुन्छ। उहाँ ७५ वर्षको हुनुभयो। केही हप्ता अगाडि मैले आमालाई खैरो विग किनिदिए र भनेँ, ‘बाहिर जाँदा विग लगाउनु, ह्याट र चस्मा पनि लगाउनु।’ उहाँले त्यो लगाउनु त भयो तर अर्को दिन आएर भन्नुभयो, ‘म यो लगाउदिन बरु मलाई बलियो लौरो किनिदेऊ।’ यो अहिलेको अमेरिकाको यथार्थ हो।

त्यसैकारण तपाईं र अन्य डिजाइनरहरु मार्चमा गरिएको काला र एसियाली एक हुनुपर्छ भन्ने अभियानको आयोजक हुनु भएको हो?

हामीलाई त्यसबेला थाहा थिएन अभियानमा कति सहभागी हुनेछन्। तर हजारौं हजार विभिन्न जाति र लिंगका मानिसहरु त्यहाँ उपस्थित भएका थिए। एलजीबीटीक्यू समुदायका साथीहरु, काला, गोरा, एसियाली तथा ल्याटिन समुदायका साथीहरु उपस्थित भए। हामीलाई के महसुस भयो भने कुनै विशेष क्षणलाई अभियानमा बदल्न सबै सीमान्तकृत समूहहरू एक हुनुपर्छ र गोरा समुदाय पनि यो आन्दोलनमा जोडिनुपर्छ।

तपाईंलाई थाहा छ, जब कोरोना महामारी सुरु भयो मसँग शहर छाड्ने विकल्प थियो। तर मैले न्युयोर्कमै बस्ने निधो गरेँ र यहाँका यस्ता हरेक विरोध प्रदर्शन र जुलुसमा भाग लिएँ किनभने मलाई थाहा थियो, व्यक्तिगत रूपमा मैले आवाज बुलन्द बनाउनसक्छु। समग्रमा, म एक क्रान्तिको हिस्सा हुन सक्छु। मलाई थाहा थियो आफू आफू नभएर अरु हुँदा कस्तो महसुस हुन्छ। पत्रिका पल्टाउँदा आफूजस्ता मानिस कहिल्यै नदेख्दा उत्पन्न हुने मनोभावको पनि मसँग राम्रो अनुभव छ।

 

के तपाईंले फेसनको पेशामा हुँदा कहिल्यै भेदभाव भएको महसुस गर्नुभयो र?
फेसन उद्योगबाट वास्तवमै मलाई स्वीकारिएको छ र मैले धेरैको समर्थन प्राप्त गरेको छु। तर हामीलाई केवल डिजाइनरको रुपमा हेरिँदैन। हामीलाई एसियन डिजाइनर, अन्यलाई काला समुदायका डिजाइनर तथा महिला डिजाइनरको हिस्साको रुपमा हेरिन्छ। हामीले चाहीँ कहिल्यै गोरा डिजाइनर भन्दैनौं। हामी डिजाइनर हौं। तर हामीलाई स्वतन्त्र डिजाइनरको रूपमा कहिल्यै हेरिँदैन। यस्ता किसिमका निहित पूर्वाग्रहहरु हामीले हरेक समय सामना गरिरहेका छौं।

 

जब तपाईं आफ्नो व्यवसायको लागि आर्थिक सहयोग प्राप्त गर्ने प्रयास गर्दै हुनुहुन्थ्यो, त्यसबेला पनि भेदभावको अनुभव गर्नुभयो र?
फेसन डिजाइनिङमा लागेको दशवर्ष पुगेपछि म मेरा सम्भावित लगानीकर्तासँगको वैठकमा थिएँ। त्यसबेला एक जनाले सोधे, ‘तपाईंको ब्राण्ड केका लागि स्थापित भएको हो?’ मैले भनेको थिएँ, ‘मैले देखेको अमेरिका रंगीन छ। मैले देखेको डिनर टेबल पनि रंगीन छ। मलाई प्रतिज्ञा गरिएको अमेरिका विविधताले भरिएको छ। त्यसकारण म यहाँ आएको हो।’ उनले त्यसपछि भनेका थिए, ‘तपाईं अमेरिकी जस्तो देखिनुहुन्न।’ मैले उनलाई हेरेर भनेको थिएँ, ‘यसको अर्थ म गोरा मानिसजस्तो छैन भन्ने खोजेको हो?’

ठिकै छ भन्दै मैले भनेको थिएँ, ‘म अमेरिकामा २० वर्षदेखि व्यापार गरिरहेको छु। म यहीँको नागरिक हो। मैले ९० प्रतिशत लुगा न्युयोर्क सिटीमै बनाउँछु। म सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागि परेको छु। मैले कर तिरेको छु।’

मैले त्यसबेला उनीहरुबाट लगानी पाइन र म अझै एक स्वतन्त्र ब्रान्ड हुँ। ती व्यक्तिले मलाई होच्याएको म कहिल्यै बिर्सने छैन।

 

मानिसहरुले तपाईंको काम कसरी हेर्छन् र त्यसमा के गर्न सकिन्छ?
एकपटक मैले नेपालको मुस्ताङबाट प्रेरित भएर डिजाइनिङको काम गरेको थिएँ। त्यहाँ ठूला घण्टीहरु समावेश थिए। एक रिटेल प्लेटफर्मका फेसन निर्देशकले आएर मलाई भनेका थिए, ‘मैले तपाईंको कलेक्सन हेर्न चाहेँ भने त्यो टेलिभिजनको इतिहास कार्यक्रममा हेर्नसक्छु। हामी तपाईंबाट फरक चाहँदैनौं। हामी राम्रो देखिने डिजाइन चाहन्छौं।’ त्यसबेला मैले उनीसँग वादविवाद गरिन। मैले आफ्नो व्यापार बचाउनुपर्छ भन्ने सोचेर चुप बसेँ।

तर हामीले कहिले काहीँ आफैंलाई प्रश्न गर्नुपर्छ। जुन बस्तुलाई हामी आकर्षक ठान्छौं, स्टाइलिस ठान्छौं भने त्यो खाना, संगीत कहाँबाट आए भनेर सबै थाहा पाउनुपर्छ। जेमा पनि युरोपेली धारणा राखिनु औपनिवेशिक दृष्टिकोण हुनेछ। त्यस्ता विचार भत्काउनुपर्छ।

 

के यो पनि काम तपाईंको जिम्मेवारीभित्रै पर्छ?
मैले मेरो पहिलो फेसन डिजाइनिङको प्रस्तुती दिँदाको एउटा क्षण म अझै सम्झन्छु। मैले धेरै सेलिब्रिटिको पोशाक डिजाइन गरेको थिएँ। मैले त्यसदिन नेपालमा आफ्नी आमालाई फोन गरेको थिएँ।

‘धेरै राम्रो’ त्यसबेला आमाले मेरो कामबारे भन्नु भएको थियो, ‘तर तिमीलाई थाहा छ तिमीले कसको लागि काम गर्नुपर्छ? मिसेल ओबामा। उनी केही कारणका लागि त्यो पदमा छिन्।’ त्यसको एक वर्षपछि, मिसेल ओबामाले मैले बनाएको पोशाक लगाइन् र मैले आमालाई फोन गरेँ। आमाले त्यसबेला भन्नु भएको थियो, ‘म धेरै खुशी छु र बधाई छ। तर यो नबिर्सनु, यो उपलब्धि तिम्रो मात्र होइन। यो उपलब्धि ती सबै सिमान्तकृत व्यक्तिको हो जसले तिमीले जस्तै हेपिएको महसुस गरे।’

आफ्नो मुख्य पेशासँगै तपाईंले गरिरहनु भएको कार्य फरक एसियाली सँस्कृतीका मिहिन पक्षबारे मानिसलाई बुझाउनु हो?
एसियाली अमेरिकीहरु अमेरिकामा सबैभन्दा तीव्र रुपमा बढिरहेका आप्रवासी समूह हुन्। हामीमा विविधता छ। म हेर्दा पूर्वी एसियाली जस्तो देखिन्छु हैन? तर म दक्षिणपूर्वी एसियाको हुँ।

एसियाली अमेरिकीमा गहिरो गहिरो आर्थिक खाडल देखिन्छ। गरिबहरु धेरै भेटिन्छन्। मलाई लाग्छ अमेरिकामा पनि एसियाली अमेरिकी सबैभन्दा गरिब छन्। त्यहीँ पनि धनाढ्य एसियालीहरु आफूलाई अल्पसंख्यक भन्न रुचाउँछन्। त्यसकारण ‘प्यारासाइट र मिनारी’जस्ता चलचित्रको महत्व छ। त्यसले हाम्रो कथा भन्न सहयोग पुर्‍याएको छ।

 

त्यस्ता पुराना सोच देखेर तपाईंलाई रिस उठ्दैन?
गल्ती गर्ने मानिससँग मेरो कुनै गुनासो छैन किनभने यसले सम्वादको सुरुवात गर्दछ जसले समाधानको बाटो पहिल्याउँछ। नोक्सान नै नपुर्याएसम्म म मानिसहरूलाई अस्वीकार गर्दिन।

फेसन सबैभन्दा गाह्रो र कठिन उद्योग हो तर यही उद्योगले तपाईंलाई अविश्वसनीय तवरमा उत्कृष्ट पुरस्कार दिनसक्छ। यो एकमात्र त्यस्तो उद्योग हो जसले १० मिनेटमा सँस्कृति कस्तो हुनुपर्छ भन्ने कथा भन्नसक्छ। यो फेसनको शक्ति हो।

म त्यसको जीवित उदाहरण हुँ, नेपालबाट आएको युवाले अमेरिकामा डिजाइनिङको काम गर्छ भन्ने कसैले सोचेकै थिएन। आफ्नो सपनामा बाँच्न र यो मञ्च प्राप्त गर्न सक्षम हुनु मेरो लागि वास्तवमै अविश्वसनीय विषय हो। नेपालखबर -न्युयोर्क टाइम्सबाट