झुटो बोलेकोमा अनलाईन विक्रेता कम्पनी अमेजनद्वारा क्षमायाचना

संयुक्तराज्य अमेरिका । विश्वव्यापी अनलाईन विक्रेता कम्पनी अमेजनले उसका चालकहरू बेलाबेलामा प्लास्टिकका बोतलमा पिसाब फेर्न बाध्य रहेको भन्ने विषयमा झुटो बोलेकोमा क्षमायाचना मागेको छ।

विस्कन्सिनबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक पार्टीका नेता मार्क पोकनले अमेजनले आफ्ना कर्मचारीलाई पानीको बोतलमा पिसाब फेर्नु लगाएको भन्दै केहि समय अघि ट्वीट गरेका थिए।

 

 

त्यसपछि अमेजनले आफ्नो ट्विटर अकाउन्टबाट जबाफमा भनेको थियो- यदि त्यो साँचो हुँदो हो त हाम्रा लागि कोही काम गर्ने थिएन।

तर चालकहरूले बोतलमा पिसाब फेर्नुपरेको प्रमाण सार्वजनिक गरेपछि अमेजनले यतिखेर भने माफी मागेको छ। अमेजनले एक विज्ञप्ति जारी गर्दै भनेको छ- जनप्रतिनिधि पोकनसँग हामी माफी माग्छौं।

कम्पनीले त्यस्ता केन्द्रहरूमा दर्जनौं शौचालयहरू रहेको र कर्मचारीले जुनसुकै समयमा ती प्रयोग गर्न पाउने बताएको छ।

 

 

अमेजनले उसको अलाबामास्थित एउटा प्रमुख केन्द्रमा कर्मचारीहरूले युनियन बनाउन गरेको प्रयत्नको विरोध गरेको भन्दै पोकनले आलोचना गरेका थिए।

उनले गत हप्ता लेखेका थिए, युनियन बनाउन नदिने र कामदारलाई पानीको बोतलमा पिसाब फेर्न लगाउने एमेजन कर्मचारीलाई प्रतिघण्टा १५ डलर दिंदैमा प्रगतिशील कार्यस्थल हुँदैन।

विभिन्न सञ्चारमाध्यममा कैयौं उक्त कम्पनीका कर्मचारीले कामका बेला कुनै विकल्प नभएपछि प्लास्टिक बोतलमा पिसाब फेर्नुपर्ने बाध्यतामा पर्ने गरेको भन्ने समाचार छापेका थिए।

कर्मचारीहरुले केन्द्रमा र डेलिभरी ड्राइभरका रूपमा निरन्तर काम गरिरहनुपर्ने अवस्थाबारे पनि ती सञ्चारमाध्यामलाई बताएका थिए ।

अमेजनले गल्ती स्वीकार गरेको विज्ञप्तिमा भनेको छ- कहिलेकाहीं ट्राफिकका कारण अथवा ग्रामीण भेगका कारण र खासगरी कोभिडका कारण धेरै सार्वजनिक शौचालयहरू बन्द रहँदा चालकहरूलाई समस्या परेको हामीलाई थाहा छ। बीबीसी