चिनियाँ नेताहरु विश्वस्त छन्- अमेरिका दीर्घकालीन पतनको बाटोमा छ

दि इकोनोमिस्ट,
लन्डन ,

कसरी धनी र बलियो हुने, गएको चालीस वर्षमा चीनको नजर यसैमा केन्द्रित छ। यो अवधि उसले अरुलाई धम्क्याउँदै तर जोखिम मोल्नबाट पन्छिँदै बिताएको छ। साना शक्तिलाई दुःख दिन पछि नहट्ने चीन हात फर्काउन सक्ने मुलुकसँग भने होसियार रहँदै आएको छ।

तर, अहिले आएर जोखिम हिसाबकिताब गर्ने चीनको तरिका बदलिएको देखिन्छ। पहिले चिनियाँ कम्युनिस्ट पार्टीका विदेशी नीति प्रमुख याङ चिचीले अलास्कामा भएको द्विपक्षीय बैठकमा अमेरिकी कूटनीतिज्ञहरुलाई हकारपकार पारे। अमेरिकी लोकतन्त्रका कमजोरीहरुलाई उनले उदांगो पारे। जसका कारण चीनमा उनलाई नायकको हैसियत प्राप्त भयो। त्यसपछि, चीनले बेलायत, क्यानडा, युरोपेली संघका राजनीतिकर्मी, कूटनीतिज्ञ, प्राज्ञ, वकिल र लोकतन्त्रका अभियान्तामाथि प्रतिबन्ध लगायो। सिन्जियाङमा मुस्लिमहरुमाथि दमन गरेको आरोपमा ती मुलुकले चिनियाँ अधिकारीहरुलाई लगाएको प्रतिबन्धको बदलामा चीनले यसरी व्यापक प्रतिबन्ध लगाएको हो।

 

चिनियाँ विदेश मन्त्रालयले दास किनबेच, उपनिवेशवाद, यहुदी नरसंहारजस्ता भयावह कृत्य तथा कोभिड–१९ बाट यतिधेरै अमेरिकी र युरोपेलीहरुको ज्यान गएको घटनाबाट पश्चिमा मुलुकका सरकारहरु चीनको मानव अधिकारको स्थितिबारे प्रश्न उठाउन लज्जित हुनुपर्ने बताएको छ। पछिल्लो समय सिन्जियाङमा श्रमिकहरुलाई जबर्जस्ती कपास टिप्न बाध्य बनाइएको रिपोर्टलाई चिनियाँ कूटनीतिज्ञहरु र प्रचारकहरुले ‘झुठ र गलत सूचना’ भनेर भर्त्सना गरेका छन्। उनीहरुले सिन्जियाङको कपास प्रयोग गर्न नमान्ने विदेशी ब्रान्डलाई अस्वीकार गर्ने चिनियाँ नागरिकहरुको प्रशंसा गरेका छन्। कतिपयले माओवादी युगको गाली दोहो¥याएर आफ्नो उत्साह देखाउने प्रयास पनि गरे। एक चिनियाँ महावाणिज्यदूतले ट्विटरमा क्यानडेली प्रधानमन्त्रीलाई ‘दौडिरहेको अमेरिकाको कुकुर’ भन्दै गाली गरेका छन्।

यस्तो देखावटी राष्ट्रियतालाई बेइजिङमा रहेका पश्चिमा कूटनीतिज्ञहरु निराशाका साथ हेरिरहेका छन्। राजदूतहरुलाई राति अबेर झिकाइन्छ र गाली गरिन्छ। चिनियाँ अधिकारीहरुले उनीहरुलाई सम्झाउँछन्– अहिलेको चीन १२० वर्षअघिको जस्तो होइन। जतिबेला विदेशी सेना र हतियारबद्ध डुंगाले चीनको अन्तिम वंशीय साम्राज्यलाई पल्टाएर विदेशीहरुका लागि ढोका खुल्ला गरेको थियो।

 

 

केही विदेशी कूटनीतिज्ञहरु चिनियाँ विदेशनीति परिवर्तनको विन्दुमा आफूहरु बाँचिरहेको बताउँछन्। अहिलेको क्षणले सन् १९३० को दशकमा क्रुद्ध संशोधनवादी जापानको उदयलाई प्रतिबिम्बित गर्छ कि पहिलो विश्वयुद्धअघिको महत्वाकांक्षी जर्मनीको भनेर इतिहासका जानकारहरु बहस गर्ने गर्छन्। एक वरिष्ठ कूटनीतिज्ञले निराशापूर्वक भने– चीनका शासकहरुले अहिले पश्चिमलाई अनुशासनहीन, कमजोर, भ्रष्ट ठान्छन् र तिनलाई कुकुरलाई झैँ आज्ञाकारी बनाउन खोजिरहेका छन्।

चीनले हतारमा भद्दा कमजोरी गरिरहेको गाइँगुइँ वासिङ्टन र अन्य मुलुकका राजधानीहरुमा सुन्न सकिन्छ। पश्चिमा विश्वमा आफूप्रतिको जनधारणा खराब हुँदै गएको निश्चय नै चीनले पनि देखेको छ। चीनले हालै युरोपेली संघसँग बृहत् लगानी सम्झौताको मस्यौदा टुंग्याएको थियो। जसलाई टुंग्याउन चीन निकै तत्परताका साथ लागिपरेको थियो। तर, सो सम्झौतालाई युरोपेली संसदले गर्नुपर्ने अनुमोदन अहिले पछि सरेको छ। युरोपेली सांसदहरुलाई चीनले प्रतिबन्ध लगाएपछि सम्भवतः सो काम सदाका लागि रोकिएको हुनसक्छ। यसलाई चीनले कसरी हेरिरहेको छ, स्पष्ट छैन।

चिनियाँ नेताहरुको बोली र लेखनलाई आधार मान्ने हो भने वास्तवमै उनीहरु आक्रामक रुपमा प्रस्तुत हुनु उचित हो भन्ने निष्कर्षमा पुगेका छन्। पहिलो कुरो त, उनीहरुलाई के विश्वास छ भने उदाउँदो विश्व व्यवस्थामा संख्या चीनको पक्षमा छ। विकासशील मुलुकहरुको मागअनुसार विस्तारै स्थापित हुँदै गएको यस्तो विश्व व्यवस्थामा उनीहरुको पकड बलियो हुन्छ। संयुक्त राष्ट्रसंघमा धेरैजसो सदस्य मुलुकले चीनलाई बलियो समर्थन गर्छन्। किनभने तिनका लागि ऋण, पूर्वाधार र सस्तो प्रविधि विकल्परहित स्रोत चीन नै हो। कतिपय डराएका तानाशाहीले निगरानीका उपकरण पनि चीनबाटै किन्ने गरेका छन्।

 

 

दोस्रो, अमेरिका दीर्घकालीन रुपमै उल्ट्याउन नसकिनेगरी पतन हुँदैछ भन्नेमा चीन झन्झन् ढुक्क हुँदै गएको छ। चिनियाँ नेताहरु भन्छन्– घमण्ड र नश्लवादका कारण अन्य पश्चिमा मुलुकले नस्वीकारे पनि ‘पूर्व उदाउँदो छ, पश्चिम अस्ताउँदो छ।’ अमेरिकी नेतृत्वको पुरानो विश्व व्यवस्था अन्त्य हुँदैछ भनेर महसुस गराउन चीनले अहिले पश्चिमाहरुलाई गनीगनी कष्ट र झड्काको खुराक दिइरहेको छ।

चीनका शासकहरु बहुमतवादी हुन्। समृद्धि, सुरक्षा र राष्ट्रिय शक्तिका लागि एकल पार्टीको फलामे शासन चाहिन्छ भनेर उनीहरुले बहुसंख्यक नागरिकलाई विश्वस्त तुल्याएका छन्। त्यसैले उनीहरु सत्तामा टिक्न सकेका छन्। उनीहरु अल्पमतको भन्दा बहुमतको हितलाई निसंकोच अगाडि राख्छन्। बाँध बनाउन किसानलाई ठाउँ सार्नदेखि लिएर जातीय अल्पसंख्यकलाई रोजगार बजारमा बिक्ने श्रमिक बन्ने तालिम दिन वा असन्तुष्टलाई चुप लगाउन उनीहरु हिच्किचाउँदैनन्।

बहुमतका नाममा चलाइएको यो निरंकुशतालाई अत्यधिक चिनियाँहरुको समर्थन छ। त्यसैले नै चीन आज उदार लोकतन्त्रवादीहरुका लागि यति ठूलो चुनौती बनेको छ। आज विश्व शासनका बारे चिनियाँ विचार सुन्दा त्यो बहुमतवादी विश्व व्यवस्थाजस्तो लाग्छ। चिनियाँ विदेश मन्त्रालयको सी चिनफिङ डिप्लोमेटिक रिसर्च सेन्टरका विद्वान रुवान सोङत्सेले एक पत्रकार सम्मेलनमा आधिकारिक धारणा सार्वजनिक गरे। चीन आफ्ना मूल्यमान्यतालाई निर्यात गर्न चाहन्छ भन्ने आरोपको उनले खण्डन गरे। तर, उनले बहुमतको बहुपक्षीयतावादसम्बन्धी दृष्टिकोण अघि सारे। जहाँ उदार मान्यताहरुलाई खासै वैधता दिइन्न। ‘लोकतन्त्रलाई गठबन्धन निर्माणको आधार बनाउने’ सरकारहरुको उनले आलोचना गरे। त्यसलाई उनले ‘नक्कली बहुपक्षीयतावाद’ भने। संसारको ठेक्का पश्चिमले नलिएकाले पश्चिमले आलोचना गर्दा विकासशील मुलुकहरु डराउन आवश्यक नभएको उनले बताए। विश्वव्यापी आर्थिक वृद्धिको इन्जिन चीन र अन्य उदाउँदा अर्थतन्त्र भएकाले उनीहरुको भनाइ बढी महत्वपूर्ण हुने उनको तर्क थियो। ‘जसले भविष्यको प्रतिनिधित्व गर्छन्, उनीहरु नै नेतृत्वदायी शक्ति बन्नुपर्छ,’ उनले घोषणा गरे।

 

 

एक युरोपेली कूटनीतिज्ञका अनुसार चिनियाँ संस्थापनको एउटा हिस्सा सन् १९४५ पछि स्थापना भएको उदार व्यवस्था चीनको उदयका लागि बाधक हो भन्ने ठान्छ। ‘उनीहरु यो नियम मान्ने हो भने चीनले आफ्नो उदेश्य प्राप्त गर्न सक्दैन भन्ने ठान्छन्,’ ती कूटनीतिज्ञ भन्छन्।

कूटनीतिज्ञहरु चीनलाई हठी र सनकी भनेर व्याख्या गर्छन्। उनीहरुका अनुसार केही चिनियाँ अधिकारीहरु युरोपेली संघले सिन्जियाङसम्बन्धी प्रतिबन्ध चाँडै फुकुवा गर्नेमा ढुक्क छन्। किनभने चिनियाँ वृद्धिको सहारा नलिई युरोप महामारीको असरबाट मुक्त हुन सक्दैन। केही चिनियाँ अधिकारीहरु भने चीनले ज्यादा शत्रु बनाएको भनेर चिन्तित छन्। तर, उनीहरुभन्दा धेरै यस्ता छन्, जो पश्चिमा द्वेषका कारण चीन अलोकप्रिय भएको ठान्छन्। चीनका शासकहरुका दीर्घकालीन संघर्षका लागि तयारी गरिरहेका छन्। चीन र पश्चिम दुवैका लागि जोखिम स्पष्ट छ।