कोभिड-१९ को प्रकोप बढेसँगै भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

मुम्बई । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कर्फ्यूका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिवार र आइतवार लकडाउन समेत हुनेगरी सोमवारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागू गरेको हो ।

सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यू लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिवार र आइतवार पूर्ण रूपमा लकडाउन लागू हुने बताइएको छ ।

 

 

भारतमा पछिल्लो समयमा कोभिड-१९ का धेरै संक्रमित भेटिएका छन् । यहाँ आइतवार मात्र पनि एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महीना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधाभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।

यो राज्य शुरुदेखि नै बढी प्रभावित राज्यमा पर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँ पछिल्लो समयमा फैलिएको संक्रमणको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णय हालै गरेका थिए ।

 

 

भारत कोरोना भाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको बताइएको छ । कोभिड–१९ का कारण भारतमा हालसम्म करीब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी हालसम्म यहाँका संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा