जनप्रियले संझियो संस्थापक अध्यक्ष प्रेमनारायण बराललाई

पोखरा, २५ चैत्र ।
जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष एवम् सम्मानर्थ संरक्षक प्रेमनारायण बरालको स्मृतिमा श्रद्धाञ्जलीसभा बुधबार पोखरामा सम्पन्न भएको छ । श्रद्धाञ्जलीसभामा विभिन्न वक्ताहरूले बरालको योगदानलाई स्मरण गर्दै उनको सरलता र सद्भावपूर्ण व्यवहारको सिको गर्न आग्रह गरे ।

 

प्रेमनारायण बरालको व्यक्तित्व र जीवनीमाथि पिताम्बर बरालले प्रकाश पार्दै उनी राष्ट्रिय व्यक्तित्व भएको पुष्टी गरे । बहुआयामिक व्यक्तित्व बरालले आफ्नो जीवनकालमा शैक्षिक, सामाजिक, राजनीतिक र धार्मिक क्षेत्रमा गहकिलो योगदान दिएको हुँदा उनको भौतिक शरीर नरहँदा पनि समाजले संझिरहने बताए ।
संस्थापक उपाध्यक्ष हरिप्रसाद बरालले २०४८ सालमा प्रजातन्त्र आएपछि क्याम्पस खोल्ने अवधारणामा प्रेमनारायण बरालको भूमिका जगको ढुंगा भएर रहेको उल्लेख गरे । १ सय २५ जना विद्यार्थी, १२ जना शिक्षक र ४ जना कर्मचारी लिएर जनप्रिय माविका २ कोठाबाट सुरु भएको क्याम्पस आज मानित विश्वविद्यालय उन्मुख हुनु ३० वर्ष पहिलेको चिन्तनको उपज भएको जनाए ।

 

सल्लाहकार परशुराम बरालले ६ वर्ष तदर्थ समितिमा सँगै रहेर काम गर्दाको स्मरण गर्दै समाजलाई योगदान दिन केही गरिरहनुपर्छ भन्ने उनको हुट्हुटीबाट आफू प्रभावित रहेको जनाए । जीवनको पछिल्लो समय आध्यात्मिक ज्ञानको खोजी गर्दै उनी देवघाट धाम बसेर पुस्तक लेखेको बताए ।
सल्लाहकार सोभियत बहादुर अधिकारीले तत्कालीन पोखरामा बिए, बिएल र कोलम्बो प्लान अन्तर्गत एमए इन सोसल वर्क गरेका बराल कास्की जिल्लाको डिग्री हाँसिल गर्ने अग्रज व्यक्तित्व भएको जनाए । संस्थापक अध्यक्ष बराल र संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखे जस्ता उच्चशिक्षा हाँसिल गरेका प्राज्ञिक व्यक्तित्वका कारण क्याम्पसले राष्ट्रिय स्तरको पहिचान बनाएको धारणा राखे । राजनीतिमा क्रियाशील भएपनि कहिल्यै पूर्वाग्राही भावना नराखी असल व्यक्तित्वमा आफूलाई उनले टिकाइराखे ।

 

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसलाई आजको उचाईमा पु¥याउन भौतिक संरचना, जग्गा र आर्थिक सङ्कलन कार्यमा उनको भूमिका उल्लेखनीय रहेको बताए । विश्वविद्यालय अनुदायन आयोगले गुणस्तर मान्यताको प्रमाणपत्र प्रदान गरेको क्याम्पसलाई शिक्षा मन्त्राललयले २०७२ र २०७३ मा मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट घोषित गर्दा प्रेमनारायण बरालको सपना पूरा भएको बताए ।
अध्यक्ष तारा गिरीले संस्थागत सुशासन र आर्थिक पारदर्शितामा जोड दिने स्वच्छ छविका धनी बराल भ्रष्टाचारका मुद्धामा खरो बहस गर्ने व्यक्ति रहेको बताए । असहायलाई न्याय दिने सन्दर्भमा निःशुल्क पैरवी गर्ने बरालको अभाव समाजमा खट्किरहने जनाए ।
यही चैत्र १६ गते सोमबार बेलुकी ८ बजे ८८ वर्षको उमेरमा बरालको निधन भएको थियो । १० औं दिनमा श्रद्धाञ्जली सभाको आयोजना गरी शोक सन्तप्त परिवारजनमा समावदेना जारी गर्दै एक दिन क्याम्पस विदा घोषणा गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जलीसभाको सञ्चालन सहायक क्याम्पस प्रमुख भेषराज उपाध्याय बरालले गरेका थिए ।